काठमाडौं । रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले आरोप लगाएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा बुधबार गरिएको कार्यक्रममा उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भन्नेबारे सोच्ने बेला भएको बताएका हुन ।
उनले पेट्रोलियम पदार्थ आयात गरेजस्तै गरी मल आयातको व्यवस्था मिलाउन पर्ने बताएका छन् । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै मन्त्री यादवले मेसिन चलाएर धान रोपेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको बताउदै लागेको ठेक्काबाट पनि मल नआएको तर्क गरे । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिक टन यूरिया मल दिने बताउदै उनले कृषकलाई यूरिया मल अभाव जानकारी दिए ।
सरकारकै लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको भन्दै देशैभर किसानले गुनासो गरिरहेका छन् । बारीको मकै, असारे धान र बिउमा राख्नका लागि मलको चरम अभाव भोगेको किसानहरुको गुनासो रहेको छ । नेपालमा आधिकारिक रुपमा रासायनिक मल आयात गर्न दुई वटा कम्पनीले अनुमति पाएका छन् । तर, मुख्य सिजनमै सधैं मल अभाव हुनुमा यिनै संस्थाको भूमिका महत्वपूर्ण छ ।
पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीले मल आयात गर्छन् । तर, अहिले साल्टसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग निकै कम मल छ । सरकारले यो वर्ष मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थियो । पहिले बजेटबाटै १५ अर्ब मल खरिदमा छुट्ट्याइएकोमा पछि थप १२ अर्ब रुपैयाँ सरकारले मलका लागि दिएको थियो ।
