मावि स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत विद्यालयमा शिक्षक दरबन्दीविहीन

मावि स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत विद्यालयमा शिक्षक दरबन्दीविहीन

जैमिनी । माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत विद्यालयमा शिक्षक दरबन्दीविहीन अवस्थामा रहेका छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन ।

कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन् । बाँकी छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ । निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताउनुभयो ।

“न्यून तलब सुविधा दिएर राख्नुपर्ने अवस्था छ, अन्यत्र राम्रो अवसर आउँदासाथ शिक्षकहरु जानुहुन्छ”, उहाँले भन्नुभयो, “हामीले रोकेर राख्न पनि मिलेन ।” अहिलेसम्म २०÷२२ शिक्षकले विद्यालय छाडेको प्रअ थापाले सुनाउनुभयो । “दरबन्दी नहुँदा एकदमै समस्या छ, स्थानीय स्रोत र अभिभावकबाट चन्दा सहयोग जुटाएर खर्च धानेका छौँ”, उनले भने ।

स्थायी दरबन्दीमा योग्य शिक्षक नहुँदा पढाइको गुणस्तरमा भनेजस्तो सुधार ल्याउन नसकिएको विद्यालयले जनाएको छ । आधारभूत तहको दरबन्दीमा रहेका शिक्षकले मावि तहलाई समेत हेर्नुपर्ने हुँदा तल्लो कक्षामा पढ्ने बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ । “विद्यार्थी सङ्ख्या पनि राम्रो छ, भौतिक पूर्वाधार पनि छ, दरबन्दी नपाएका कारण हामी समस्यामा पर्यौँ”, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरि शर्मा आचार्यले भने ।

स्थानीयवासीको ठूलो दुःख, कष्ट र मेहनत विद्यालयमा परेको उनको भनाइ छ । विद्यालयको भौतिक र शैक्षिक सुधारका योजनामा स्थानीयवासीले स्वतःस्फूर्त सहयोग गर्दै आएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.