म्यानपावर मनलाग्दी रकम असुल्ने, सरकार वैदेशिक रोजगारीमा जानेको लागत बढाउने

म्यानपावर मनलाग्दी रकम असुल्ने, सरकार वैदेशिक रोजगारीमा जानेको लागत बढाउने

काठमाडौं । ‘फ्रि भिसा, फ्रि टिकट’को हवाला दिने सरकारले अब अब वैदेशिक रोजगारीमा जाने कामदारको लागत बढाउने भएको छ । व्यवस्था कार्यान्वयन नभएपछि कामदारको लागत बढाउने गृहकार्य थालेको छ । कामदारले सास्ती पाइरहेको र सरकारले राजस्व गुमाइरहेको भन्दै वैदेशिक रोजगारीमा जानेको लागत हेरफेर गर्न लागेको जनाइएको छ ।

श्रम सम्झौता गर्दा ‘रोजगारदाता पे’ मोड्युल अघि सारिएको छ। यसले गर्दा म्यानपवारले कामदारबाटै ढाडसेक्नेगरी असुल्ने गरेका छन् । टेकबहादुर गुरुङ श्रमराज्यमन्त्री हुँदा २०७२ सालमा फ्रि भिसा, फ्रि टिकटको व्यवस्था गरेका थिए । सेवाशुल्क १० हजार रुपैयाँमात्रै लिन पाउने प्रावधान छ । तर, म्यानपावरले कामदारबाट दुई÷तीन लाखभन्दा बढी रकम असुल्ने गरेका छन् ।

१६ औं पटक मन्त्री बनेका शरदसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी पाएलगत्तै कार्यदल गठन गरी भर्ना प्रक्रियामा लाग्ने सेवा शुल्कबारे अध्ययन थालेको बताएका छन् । सहसचिव राजीव पोखरेलको संयोजकत्वमा वैदेशिक रोजगार सुधार कार्यदलसमेत गठन गरेका छन् ।

कार्यादलले २१ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । कामदारले सास्ती पाइरहेको, एजेन्ट तथा म्यानपावर व्यवसायीले मनलाग्दी शुल्क लिने गरेको तथ्याङ्क छ । सरकारले फ्रि भिसा, फ्रि टिकट र रोजगारदाता पे मोड्युल ल्याए पनि कामदारले ८÷९ महिनाको तलब आफू जाँदा लाग्ने शुल्कमै खर्चिनुपर्ने बाध्यता छ ।

यस विषयमा सरकार भने मुकदर्शक बनिरहेको छ । कार्यदलमा म्यानपावर, व्यवसायीलगायत सरोकारवाला क्षेत्रका ९ सदस्य छन् । कार्यदलले सेवाशुल्क पुनरावलोकनको सिफारिससहित पूर्वप्रस्थानलाई डिजिटल बनाउने, सीप सिकाएर कसरी पठाउन सकिन्छ र विदेशमा बिनाकागजात बसेका श्रमिकलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने भनिएको छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन बैंकिङ च्यानलबाट मात्रै म्यानपावरले सेवाशुल्क लिन पाउने व्यवस्था गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले बताए ।

अब म्यानपावरले तोकिएको भन्दा बढी रकम असुल गर्न नपाउने भन्दै मन्त्री भण्डारीले भने, ‘सेवाशुल्क परिमार्जन गरी समय अनुुकूल बनाउन लागेका छौं, नयाँ सेवाशुल्क बैंकिङ च्यानलबाट मात्रै लिने व्यवस्था गर्छौं।’ तर अहिले फ्रि भिसा, फ्रि टिकट, सेवाशुल्क १० हजार रुपैयाँ भने पनि म्यानपावरवालाले मनलाग्दी रकम असुल गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.