एजेन्सी । रूसले युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गरी ‘नयाँ ठूलो स्ट्राइक’ सुरु गरेको छ । शनिबार राति भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले मिसाइल आक्रमण गरेको बताए ।
ऊर्जा क्षेत्रलाई दक्षित गरेर रूसले युक्रेनको ठूलो स्ट्राइक गरेको हो । रूसले युक्रेनको पश्चिम, मध्य, दक्षिण र पूर्व क्षेत्रमा रहेका ऊर्जा ग्रिडहरूमा मिसाइल आक्रमण गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
जेलेन्स्कीले अधिकांश रूसी मिसाइल र ड्रोनहरू खसालिएको र त्यस्ता आक्रमणले युक्रेनी सैन्य प्रगतिलाई रोक्न नसक्ने पनि बताए । तर, आफूहरूसँग शतप्रतिशत आक्रमण रोक्न सक्ने क्षमता नरहेको पनि स्वीकारे ।
रूसी आक्रमणका कारण करिब १५ लाख घरपरिवार बिजुलीविहीन बनेका छन् । गत हप्ता सोमबारदेखि भएको हवाई हमलामा युक्रेनको झण्डै एकतिहाइ विद्युत् केन्द्र र अन्य ऊर्जा उत्पादन गर्ने केन्द्रहरू ध्वस्त भएका बीबीसी जनाएको छ ।
पछिल्लो हमला लक्षित क्षेत्रहरूमा राजधानी किभको दक्षिण–पूर्व, चर्कासी क्षेत्र र थप पश्चिममा खमेलनित्स्की सहर समावेश छ । दक्षिणमा ओडेसादेखि उत्तर–पश्चिममा रिभ्ने र लुत्स्कसम्म हवाई आक्रमण र विद्युत अवरोधहरू पनि रिपोर्ट गरिएको समाचारमा जनाइएको छ ।
