राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका पदाधिकारीले भक्तपुर नगर र नगरपालिकाद्वारा सञ्चालित अस्पताल तथा कलेजको अध्ययन अवलोकन भ्रमण गरेका छन् ।
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईको नेतृत्वमा समितिका सदस्यले प्रदेश तथा स्थानीय तहको कानुन निर्माण प्रक्रिया र भक्तपुर नगरपालिकाका असल अभ्यासबारे अनुभव आदानप्रदानको उद्देश्यले अध्ययन भ्रमण गरेका हुन् ।
टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीसहित ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा स्वागत गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापना गर्ने बाटोमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि अग्रसर भएको बताउँदै संघीय लोकतान्त्रिक व्यवस्थालाई सफल तुल्याउन स्थानीय तहहरुलाई अधिकार सम्पन्न पार्नुपर्ने धारणा राखिन् ।
भक्तपुर नपाबाट सञ्चालित कलेज र ख्वप अस्पताल भ्रमण गर्ने अवसर पाएकोमा खुशी प्रकट गर्दै उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा सराहीय काम गरिरहेको बताइन् । भक्तपुरको विकासको मोडल प्रशंसनीय भएको र भक्तपुर अहिले सबैको लागि अध्ययन गर्ने थलोको रुपमा विकास भएको बताउँदै उनले भ्रष्टाचारशून्य र पारदर्शिता नै यस नगरको विशेषता भएको बताइन् ।
सांसद राईले स्थानीय तहले आफ्नो अधिकार र कर्तव्य पहिचान गरी संविधानअनुरुप ऐन, नियम र कानुनहरु निर्माणमा जोड दिनुपर्ने बताइन् । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त जानकारीसहितको प्रस्तुतीकरण देखाउँदै नेपालको संविधानले कल्पना गरेको समाजवादउन्मुख व्यवस्था स्थापनामा भक्तपुर नगरपालिकाले जोड दिँदै आइरहेको बताए ।
नेपालमा संघीयता कार्यान्वयनका चुनौतीहरुबारे विस्तृतमा आफ्नो धारणा राख्दै उहाँले स्थानीय तहलाई संघ र प्रदेशले आफ्नो एकाइ जस्तो व्यवहार गर्नु यथोचित नभएको बताउँदै संविधानको भावनाअनुरुप स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने विचार राखे ।
हालसम्म २५ वटा ऐन, ३ वटा नियम, ६ वटा विनियम, १३ वटा कार्यविधि, ९ वटा निर्देशिका र १ वटा नीति गरी कूल ५६ वटा कानुन नगरले निर्माण गरिसकेको जानकारी गराए । ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पहल भइरहेको बताउँदै विश्वविद्यालय स्थापना गर्न नगरपालिकाले भौतिक पूर्वाधारहरु निर्माणको क्रममा रहेको अवगत गराए ।
नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति प्राप्त भएको खण्डमा सस्तोमा मेडिकल कलेज स्थापना गरी एमबीबीस अध्यापन गराउने लक्ष्य रहेको बताए । अध्ययन भ्रमणमा समितिका सभापति जयन्ती देवी राईसहित उदय बहादुर बोहरा, खिमलाल देवकोटा, गंगा कुमारी वेल्वासे, तारामान स्वार, देवेन्द्र दाहाल, नारायण दत्त मिश्र, भगवती न्यौपाने, भैरव सुन्दर श्रेष्ठ, राधेश्याम पासवान,
सुरेश कुमार आलेमगर, अनिता देवकोटा, समितिका उपसचिव नुमराज खनाल र संघीय सचिवालयका अधिकृत कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी र भक्तपुर नपाका कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । प्रमुख प्रजापतिले सांसद राईलाई मयुरको झ्याल र नगरपालिकाका प्रकाशन तथा कलेजका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका थिए ।
