भर्खरै : Sorry, your browser does not support inline SVG.

रु ५१ हजार शुल्कसहित कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

रु ५१ हजार शुल्कसहित कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन भने भोलि बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।

यस निर्वाचनका लागि मतदाता भनेका पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् । यस निर्वाचनको मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुने जनाइएको छ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ ।

मतदान समाप्त भएपश्चात मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने कानुनी व्यवस्था छ । काँग्रेस भित्र दलको नेता बन्ने आकाँक्षी धेरै छन् ।

संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोज्न महामन्त्री गगन थापाको कसरत कडा बन्दै गएको छ । यता शेखर कोइरालाले पनि ‘ब्रेक’ लगाउन खोजिरहेको कुरा सार्वजनिक भएको छ । दलको नेता चयनका लागि बुधबार बिहान मतदान हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.