भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

वर्षेनी डुबानमा कपन

वर्षेनी डुबानमा कपन

काठमाडौँ । ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्ने गरेको छ । सडकको किनारबाट पानी पटाउने व्यवस्था नहुनु र ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो । चाबहिलको गोपीकृष्ण हल नजिकैको ढल फुटेर सडकबाट पानीको भेल निस्कने गरेको छ । कालोपत्र गरिएको सडक पनि ढलको पानीले उप्काएकाले त्यहाँ ठूलाठूला खाल्डा बनेका छन् ।

मिलनचोकमा पानी परेपछि सडक र पसलको पेटीबाटै खोलो नै बग्ने गरेकाले स्थानीयवासी सडक पार गर्नसमेत सक्दैनन् । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल, साइकल र स्कुटर चलाउनेले खाल्डो नदेख्दा दुर्घटनासमेत हुने गरेको छ । घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण हातमा जुत्ता बोकेर पैदल हिँड्न बाध्य छन् । कपनवासीले वर्षौंदेखि यस्तो समस्या खेप्दै आएका हुन् ।

धेरैपटक स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग बाटो मर्मत तथा स्तरोन्नतिका लागि माग गरेपनि हुन्छ भन्ने तर काम नगर्ने प्रवृत्तिले हैरान भएका छन् । ठूलो पानी पर्दा सडकबाटै खोला बग्छ । पानी र हिलोले भरिएको खाल्डोे नदेखिदा साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् । यो नियति कपनवासीले पटकपटक भोग्दै आएका हुन् । मिलनचोक नजिक बस्ने समीक्षा दाहाल सडकमा बगेको पानी देखाउँदै भन्नुहुन्छ, हेर्नुस् त यो सडक हो कि खोला हो ।

यहाँबाट कसरी पार हुने यस्तो दुर्दशा कहिलेसम्म सहने मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । लामो समयदेखि खनिएको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भेलले यहाँका बासिन्दा र व्यावसायी आजित भएका छन् ।यस्तो समस्या समाधान नहुँदा व्यवसाय नै चौपट भएको उनीहरूको गुनासो छ । गुनासो सुनेर समस्या समाधान गर्न चासो दिने कोही नहुँदा उनीहरु झन आक्रोशित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.