विश्वासको मतले नयाँ उर्जा प्राप्त भयोः प्रधानमन्त्री प्रचण्ड

विश्वासको मतले नयाँ उर्जा प्राप्त भयोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अभूतपूर्व विश्वासको मत दिएपछि उर्जा प्राप्त भएको बताएका छन् । पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले उनलाई विश्वासको मत प्राप्त भएको थियो ।

नेकपा माओवादी केन्द्र निकट जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तक लोकर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो ।

नेपाली राजनीतिमा यो असाधारण परिघटना हो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’

पुस्तकको चर्चा गर्दै प्रचण्डले दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताए । ४६ वर्षपछि गोरखाबाट निर्वाचित भएका प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास पहिलो प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ लगायतले पनि सम्वोधन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.