काठमाडौं । एसईई आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई लिने तयारी गरिएको हो । ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा गर्ने गरी तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए ।नियमित तालिकाअनुसार परीक्षा चैतमा एसईई हुने गर्थ्यो । कोरोना महामारीका कारण दुई वर्षयता देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको थियो ।
