भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला

व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला

देउखुरी, । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उहाँँ लमही बजारमा बस्नुहुन्थ्यो  । कमाइ केही थिएन । उहाँँका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया जानुभएको थियो  । उहाँले सिलाइकटाइ तालिम लिनुभयो र कपडा सिलाउन थाल्नु भयो तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उहाँले हर्दवामा रहेको माइती घरमा जानुभयो र त्यहीँ बाख्रापालन थाल्नुभयो  । चार बाख्राबाट सुरु गरेको व्यवसाय बढ्दै गएपछि गाउँमै उहाँ रमाउन थाल्नुभयो । अहिले उहाँँको फार्ममा ८० बाख्रा छन् । उहाँले विसं २०७८ को दसैँमा रु दुई लाखका खसीबोका बिक्री गर्नुभयो  । बाख्राबाटै वार्षिक रु चार लाखभन्दा बढी कमाइ हुने गरेको छ ।

यही कमाइबाटै उहाँँले छ कट्ठा जग्गा किनिसक्नुभएको छ । “सुरुमा माइतीले दिएको एक कट्ठामा बाख्रा पाल्न सुरु गरेकी थिएँ, अहिले कमाएर जग्गा थपेँ”, कृष्णीकुमारीले भन्नुभयो, “बाख्राबाट राम्रो कमाइ हुन थालेपछि श्रीमान् पनि यही फर्कनुभएको छ, दुवैजना मिलेर बाख्रापालन गरेका छौँ  ।” अर्काको भूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँ घरमै प्रशस्त कमाइ भएपछि श्रीमान्श्रीमती मिलेर काम गरेको उहाँँले बताउनुभयो । लमही–९ रिहारकी हुमा वलीले २०७२ सालबाट व्यावसायिक रुपमा बाख्रा पालन गर्नुभएको छ । रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले दिएका तीन बाख्राबाट व्यवसाय सुरु गरेकामा अहिले उहाँसँग ५० बाख्रा छन् ।

उहाँका श्रीमान् मानसिंह वली वैदेशिक रोजगारीका लागि साउदी जानुभएको थियो । गाउँमा बाख्रा पालनबाट राम्रो आम्दानी हुन थालेपछि हुमाले श्रीमान्लाई घरमै बाख्रा पालन गरौँला भनेर बोलाउनुभयो । अहिले उहाँँसँग १५ खसी, १३ माउ र साना पाठापाठी २३ छन् । गत दसैँमा रु दुई लाख ९१ हजारका खसी बिक्री भएका थिए । यसपाली पनि १२ खसी दसैँमा बिक्री गर्ने भनेर पालेको उहाँँले बताउनुभयो । घरमा पालेका खसी बढीमा ४० किलोसम्मका बिक्री गर्न उहाँ सफल हुनुभएको छ । गत वर्षका ३० खसी रोगै पत्ता नलागेर मरे तर पनि हरेस नखाएर काममा लागेको उहाँँको भनाइ छ । उहाँको पाँच जनाको परिवार छ । “सबैले मिलेर घरको काम गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “घरको छेउमा सुपरनेपियर, किमु, जिगट र मकैचरी घाँस रोपेका छौं, बाख्रालाई खुवाउन सजिलो भएको छ ।”

बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको उहाँको भनाइ छ । उहाँका अनुसार सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको छ । लमही–९ हर्दवाकी गङ्गा घर्र्तीले पनि व्यावसायिक रुपमा बाख्रा पाल्नुभएको छ । अरु समयमा पनि बाख्रा बिक्री हुन्छ, तर २०७८ सालको दसैँमा मात्रै खसीबोका बेचेरै उहाँले रु तीन लाख कमाउनुभएको हो । उहाँसँग ५५ बाख्रा छन् । उहाँ वर्षमा रु चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ । “अहिले त जुनी नै फेरिएजस्तो भएको छ, पहिले भैँसी पालेर खान मात्र ठिक्क हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले कमाइ छ, अरुलाई सापट दिनसक्ने भएकी छु ।”

नौ वर्षअघि ग्रामीण महिला उत्थान केन्द्रबाट उपहार पाएका दुई बाख्राबाट उहाँले व्यवसाय सुरु गर्नुभएको हो । उहाँले भन्नभयो, “अझै बढाउने योजना छ ।” महिला सहकारीबाट बिना धितो ऋण, बाख्रा उपहार र तालिम, डालेघाँसको बीउ, प्राविधिक सेवा दिन थालेपछि हौसला बढेको घर्तीले बताउनुभयो । राम्रो आम्दानी भएपछि महिलाहरू बाख्रापालन व्यवसायमा आकर्षित भइरहेको लमही–९ रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीमाया थापाले बताउनुभयो  । “सहकारीबाट व्यवसाय गर्न चाहने महिलालाई ऋण दिने, तालिम दिने, सरकारी अनुदानमा सहयोग गर्नेजस्ता काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “धेरै महिलाको बैंकमा धितो राख्ने दर्ता जग्गा छैन, त्यस्तो बेला सहकारी नै जमानी बसेर बैंकबाट महिलालाई ऋण निकालिदिएका छौँ ।”

सहकारीका एक हजार २०० सदस्यमध्ये ५० बढीले बाख्रापालन गर्दै आएको उहाँले बताउनुभयो  । सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यलाई तीन देखि चार बाख्रा दिएर सहयोग गर्ने गरेको अध्यक्ष थापाले बताउनुभयो । आफूले उत्पादन गरेको बस्तु बिक्री गर्न सजिलो होस् भनेर सहकारीले खसीबोका खरिद गर्ने गरेको छ । गत दसैँमा सहकारीले जिउँदो २० देखि २६ किलोसम्मको खसीको प्रतिकिलो रु चार सय २० निर्धारण गरिएको थियो । त्यस्तै सहकारीले गत दसैँमा २७ देखि ३५ किलोसम्मका खसीलाई प्रतिकिलो रु चार सय ९० र ३५ किलोभन्दा माथिका जिउँदो खसीलाई प्रतिकिलो रु पाँच सय मूल्य निर्धारण गरेर किसानसँग खरिद गरेको थियो । त्यस्तै बोका २५ किलोभन्दा कम तौल भएकालाई प्रतिकिलो जिउँदो रु चार सय ३० र सोभन्दा माथिकालाई प्रतिकिलो रु चार सय ५० मूल्य निर्धारण गरेर खरिद गरेको अध्यक्ष थापाले बताउनुभयो ।

संस्थाको सहयोगमा महिला बाख्रापालनमा

लमही–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा एक हजार तीन सय ३५ सदस्य रहेका छन् । यो संस्था २०७० सालमा स्थापना भएको हो । यसको कार्यक्षेत्र लमही–८ र ९ राजपुर गाउँपालिकाको ६ र ७ नम्बर वडामा रहेको छ । संस्थाले बचत तथा ऋण कारोबार, रासायनिक मल खरिद बिक्री, खसीबोका तथा माउ बाख्रा सङ्कलन गरी बिक्री, बाख्राको दानाको बजारीकरण, पशु बीमा गर्नेलगायत काम गर्ने गरेको सहकारीका व्यवस्थापक हरिनारायण चौधरीले जानकारी दिनुभयो ।

सहकारी संस्थामा आवद्ध २३ महिलाले फर्म नै दर्ता गरेर व्यवसायिक रुपमा बाख्रा पाल्दै आउनुभएको छ । सहकारीले संस्थामा आबद्ध सदस्यलाई तीनदेखि चार माउ बाख्रा वितरण गरेर सहयोग गर्ने गरेको छ । समूहमा आवद्ध महिलाले पालेका खसीबोका सहकारीले खरिद गरेर बिक्री गर्ने गरेको छ । यसरी खरिद गरिएका खसीबाख्रा तुलसीपुर, बुटवल, काठमाडाँैका खसी व्यापारीले खरिद गर्ने गरेको उहाँको भनाइ छ । दसैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई प्रत्यक वर्ष खसीबाख्रा बिक्री गर्ने गरिएको छ । सहकारीले आर्थिक वर्ष २०७८÷७९मा दुई हजार ५० खसीबोका बिक्री गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.