महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट १२ सय थान एप्पल एयरपोड्स बरामद भएको छ ।
बरामद एयरपोड्सको मूल्य करिब दुई करोड ४० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरिएको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि सामान ल्याउने व्यक्ति फरार भएका छन् ।
संयुक्त गस्ती टोलीले एयरपोड्स नियन्त्रणमा लिएको हो ।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
महोत्तरी, २१ भदौ । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको एप्पल कम्पनीका १२ सय थान एयरपोड्स बरामद गरेको छ ।
शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको करिब दुई करोड ४० लाख रुपैयाँ बराबरको एयरपोड्स सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश दत्त पाण्डे र बोर्डर आउट पोस्ट खैरवनीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको संयुक्त गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ अवैध सामान बोकेर ल्याउने व्यक्तिहरू भने सामान छाडेर फरार भएका थिए । बरामद गरिएको एयरपोड्सलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
सीमा क्षेत्रमा अवैध रूपमा हुने सामान ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिइरहेको जनाएको छ ।
