भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव

काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव

मुख्य बुँदा

काठमाडौँमा रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्ने तयारी गरिएको छ ।

हाल सञ्चालनमा रहेका ७ बसलाई बढाएर २८ पुर्‍याउन सिफारिस गरिएको छ ।

रात्रिकालीन सेवाका लागि ६ वटा नयाँ रुट प्रस्ताव गरिएको छ ।

तीन महिनाको परीक्षण अवधिमा ६६ हजार ९५२ यात्रुले सेवा लिएका छन् ।

राति ८ देखि ९ बजेसम्म यात्रुको चाप सबैभन्दा बढी देखिएको छ ।

रात्रिकालीन यातायात सञ्चालनमा प्रतिवस दैनिक करिब १ हजार ६९० रुपैयाँ घाटा हुने गरेको छ ।

उपत्यकाका स्थानीय तहको सहभागितामा दिगो अन्तरनगर यातायात सञ्जाल विकास गर्ने तयारी गरिएको छ ।

काठमाडौं, २२ भदौ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन यातायातलाई व्यवस्थित र दिगो बनाउन अन्तरनगर यातायात सञ्जाल विकास गरिने बताएकी छन् ।

महानगरपालिकाले २०८३ वैशाख १ गतेदेखि साझा यातायातसँगको सहकार्यमा सञ्चालन गर्दै आएको रात्रिकालीन यातायात सेवाको प्रभाव तथा विस्तारबारे अध्ययन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनको सार सार्वजनिक गर्दै डंगोलले यस्तो बताएकी हुन् । उनका अनुसार उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गर्दै रात्रिकालीन यातायातका लागि दिगो प्रणाली विकास गर्ने तयारी भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले रात्रिकालीन यातायात सेवाको तीन महिनाको परीक्षण अवधिको अध्ययन गरेको थियो । समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इन्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इन्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य रहेका थिए ।

प्रतिवेदनअनुसार तीन महिनाको परीक्षण अवधिमा रात्रिकालीन यातायात सेवाबाट ६६ हजार ९५२ यात्रुले सेवा लिएका छन् । एउटा बसले दैनिक औसत १४२ जना यात्रु बोक्ने गरेको पाइएको छ । रात्रिकालीन सेवाबाट एउटा बसले दैनिक औसत ३ हजार १३४ रुपैयाँ आम्दानी गर्ने गरेको छ । तर, एउटा बस सञ्चालनको दैनिक लागत भने ४ हजार ८१४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस हिसाबले एउटा बस सञ्चालन गर्दा दैनिक औसत १ हजार ६९० रुपैयाँ घाटा हुने गरेको छ । यो सञ्चालन लागतको करिब ३५ प्रतिशत बराबर हो । अध्ययनले राति ८ बजेदेखि ९ बजेसम्म यात्रुको चाप सबैभन्दा बढी हुने देखाएको छ । उक्त समयमा कुल यात्रुको ४१.५६ प्रतिशतले सेवा लिने गरेका छन् । यस समयमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको संख्या बढी हुने गरेको अध्ययनले देखाएको छ ।

रुटअनुसार यात्रुको चाप विश्लेषण गर्दा थानकोट–एयरपोर्ट रुटमा ५१.५५ प्रतिशत तथा बूढानीलकण्ठ–लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रुको भार देखिएको छ । रात्रिकालीन सेवा प्रयोग गर्ने यात्रुमध्ये ४७ प्रतिशतले ५ किलोमिटरभन्दा कम दूरीमा यात्रा गर्ने गरेको अध्ययनले देखाएको छ ।

हाल ७ वटा बसमार्फत नागढुंगा–एयरपोर्ट र लगनखेल–बूढानीलकण्ठ रुटमा रात्रिकालीन यातायात सेवा सञ्चालन भइरहेको छ । यात्रुको आवश्यकता र मागलाई ध्यानमा राख्दै बसको संख्या बढाएर २८ पुर्‍याउन समितिले सिफारिस गरेको छ । त्यसैगरी नयाँ रुट विस्तारका लागि विभिन्न ६ वटा मार्ग प्रस्ताव गरिएको छ । प्रस्तावित रुटमा गोदावरी–बूढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायुसेवा निगमलगायतका रुट रहेका छन् ।

प्रस्तावित रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र तथा विभिन्न प्रवेश नाकालाई जोड्ने लक्ष्य राखिएको छ । हानगरपालिकाले रात्रिकालीन यातायातलाई केवल सीमित क्षेत्रमा सञ्चालन गर्ने सेवाका रूपमा नभई उपत्यकाका विभिन्न स्थानीय तहलाई जोड्ने अन्तरनगर यातायात प्रणालीका रूपमा विकास गर्ने तयारी गरेको जनाएको छ ।

यसबाट रातिको समयमा काम गर्ने कर्मचारी, श्रमिक, विद्यार्थी, व्यवसायी तथा अन्य यात्रुलाई सुरक्षित र सहज सार्वजनिक यातायातको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.