काठमाडौं । आज नवरात्रको नवौँ दिन अर्थात् महानवमी । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिन्छ । आजै धनधान्यकी देवी महालक्ष्मीको पनि पूजा अर्चना गरिन्छ ।
आजको दिन शक्ति स्वरूपा सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने धार्मिक तथा सांस्कृतिक मान्यता छ ।
आज उपत्यका भित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, सङ्कटा, बज्रयोगिनी, वज्रवाराही लगायतका शक्ति पीठहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।
यस्तै, उपत्यका बाहिर पर्साको तिलवा नदी पारी केहूनिया रहेको विन्दवासिनी देवीको मन्दिर, वीरगन्जको गहवामाई, काभ्रेको पलाञ्चोक भगवती, सप्तरीको छिन्नमस्ता मन्दिर, डडेलधुराको उग्रतारा भगवततिको मन्दिर, जनकपुरको राजदेवी मन्दिर,
गोरखाको मनकामना मन्दिरमा, सुनसरीको दुहबीको बुढी खोला किनारमा रहेको काल मन्दिर, बनेपाको चण्डेश्वरी लगायतका मन्दिरमा पनि पूजा अर्चना गर्ने दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।
आज निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ। आज इन्जिन, गाडी, कारखाना आदिमा बलि चढाएर पूजा गर्ने चलन छ।
काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठहरुमा मानिसहरुले आ–आफ्नो सवारीको पूजा गरेका छन् ।
