शुक्रबारको संसदमा किन भयो सांसदहरुबीच चर्काचर्की ?

शुक्रबारको संसदमा किन भयो सांसदहरुबीच चर्काचर्की ?

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरुबीच चर्काचर्की भएको छ । एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर प्रतिनिधि सभाका बैठकमा चर्काचर्की भएको हो । सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० बैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराएका थिए ।

सभामुखको कुरालाई बिरोध जनाउदै सांसदहरुले संसद अवरोध गरेका थिए भने बैठक ३० मिनेटको लागि स्थगन समेत भएको थियो । सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका थिए । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको तर्क गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताए । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनले बिरामी भन्न नहुने बताए । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताए । नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्नु नहुने र फरार अभियुक्तकै रुपमा लिनुपर्ने बताए ।

सभामुख देवराज घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफुकहाँ नआएको बताए । आफूले प्राप्त गरेको पत्र अनुसार बिरामी भएको सूचना सुनाइएको उनको भनाई छ । एमाले सांसद रघुजी पन्तले एमाले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताए । उनले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताए ।

 

 

 


Thali Mobile Pvt.Ltd.