काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच यसबारे सहमति भएको थियो ।
सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने छ ।
यसअघि वैशाखको पहिलो साता बसेको संवैधानिक परिषद्को बैठकमा उक्त विषयलाई एजेन्डा बनाइए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन ।
केही महिनादेखि नै सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहँदा संवैधानिक परिषद्का लागि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब देखिएको छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ ।
