सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा रहेको विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो छ ।नजिकबाट नियाल्न तथा हिमाल चुम्न दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँँचो नै लाग्छ गर्दछ । सगरमाथासहितका अग्ला हिमाल धेरै छन् यहाँ ।
हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको स्थानीय बताउ छन् । कोही लुक्लाबाट पैदल त कतिपय हेलिकप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटोभरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने होला भनेर । उपचारको भरपर्दो व्यवस्था नहुँदा पर्यटकलाई निकै सकस हुने गरेको छ ।
पर्यटक र स्थानीयवासी उपचार अभावमा ज्यान गुमाउन बाध्य नै हुने गरेका छन् । बिरामी भए उनीहरु नाम्चे र लुक्लाको सामान्य अस्पतालको भर पर्दछन् । तर बिरामी घण्टौँ हिँड्नुपर्दा बाटोमै ज्यान गुमाएका अनेकन उदाहरण भेटिन्छन् यहाँ । तर अब त्यो अवस्था फेरिने भएको छ । यही सातादेखि खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा १५ शै्ययाको अस्पताल सञ्चालनमा आएको छ ।
अस्पतालसँगै दक्ष चिकित्सकको व्यवस्था गरिएपछि यहाँ आउने पर्यटकलाई सहजता पैदा भएको छ । २० करोडको लगानीमा अस्पताल सञ्चालनमा आएपछि स्थानीय पनि खुसी भएका छन् । लुक्ला र नाम्चेको बीचमा अवस्थित फाक्दिङमा तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरिएको हो । ४० कोठा रहेको अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा अस्पतालका मुख्य लगानीकर्ता हुन ।
उनी हिमालयन शेर्पा फाउण्डेशनको अध्यक्षसमेत हुन् । होटल व्यवसायमा पनि रमाएका शेर्पाले स्थानीयवासीको अवस्था, बिरामी पर्दा आन्तरिक तथा बाह्य पर्यटक बीच बाटोबाटै आफ्नो गन्तव्य त्याग्न बाध्य हुने भएपछि आफुले यस क्षेत्रमा अस्पताल निर्माण गर्न लगाएको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा ११ गाउँ छन् । गाउँँका सबैजसो पुरुष टे«किङमा जान्छन् ।
उनीहरु कोही भरिया, कतिपय गाइडको काम गर्छन् । महिला र बालबालिका घरमै हुन्छन् । बालबालिका बिरामी भए महिला आफैँले बोकेर अस्पताल लैजान्छन् । लुक्लाबाहेक उनीहरु उपचार गर्न जाने ठाउँ नाम्चे हो । त्यहाँ पनि उपचार गराउन सात आठ घण्टा हिँड्नुपर्छ । यहाँँको मुख्य खाना भनेको आलु र भात हो । अधिकांश मधुमेह, हृदयघात र रक्तचापबाट पीडित छन् ।
यहाँका बासिन्दा सामान्य रोग लाग्दा सहेरै घरमा बस्न बाध्य हुन्छन् ।हिमालयन शेर्पा अस्पतालले हाल १५ शै्ययाका लागि मात्र अनुमति पाएको छ । भविष्यमा शै्यया थप्ने योजना रहेको सञ्चालक शेर्पा बताउछन् । शेर्पा नेपाल पर्यटन बोर्डको सदस्यसमेत हुन । उनले बोर्डमा हुँदा बजेट ल्याएर पर्यटक लक्षित विकासका काम गरे ।
विदेशी पर्यटकलाई हिमालमा पदयात्रा गर्न जाँदा, हिमाल आरोहणमा जाँदा धेरै समस्या हुने गरेकोप्रति उनी सधैँ सचेत थिए । पर्यटकले धेरै दुःख गरी पैसा बचत गरेर नेपाल घुम्न आएका हुन्छन् । गन्तव्यसम्म पुग्न नपाइ फर्किनु परे चाहेको सपना पुरा हुन् सक्दैन् । यो कुरालाई ध्यानमा राख्दै अस्पताल निर्माण गरेको शेर्पा बताउछन् ।
अस्पताल बनाउन जर्मनीका नागरिक डा मथेस बाउमेनले रु पाँच करोड तथा अन्य दाताबाट थप रु दुई करोड सहयोग प्राप्त भएको शेर्पाले बताए । हाल अस्पतालमा एक चिकित्सकसहित तीन स्वास्थ्यकर्मी कार्यरत छन् ।
अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याउने योजना छ । त्यसका लागि रु ५० लाखभन्दा बढी खर्च हुने बताइन्छ ।राज्यको तर्फबाट यस क्षेत्रमा अस्पताल बनाउन चासो दिइएको छैन ।
तर शेर्पा भने सबैथोकका लागि राज्यका निकायमाथि निर्भर नरहन सबैलाई सुझाव दिन्छन् । अस्पताल बनाउन सरकारी निकायले सहयोग नगरेको प्रति गुनासो छैन । पर्यटन व्यवसायी शेर्पा परिवारले अन्य व्यावसायिक तथा सामाजिक कामसमेत गर्दै आएको छ ।

