काठमाण्डौ । आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न त्रिभुवन विश्वविद्यालयले आह्वान गरेको छ । असार मसान्तभित्र निवेदन दिन विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले मंगलबार सूचना निकालेर अनुरोध गरेको हो । मर्ज हुन चाहेका क्याम्पसको बेग्लाबेग्दै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय पेस गर्नुपर्नेछ ।
साथै समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख छ । त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।
त्रिविबाट सम्बन्धन पाएका कतिपय आङ्गिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले सङ्कटमा परेका छन् । त्रिविका ५ सय २९ सामुदायिक क्याम्पस छन् । सबैधन्दा धेरै यी क्याम्पसमा विद्यार्थीको अभाव छ । त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र झण्डै डेढ सय आङ्गिक क्याम्पस सञ्चालनमा छन् ।
