भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

सवारी मर्मतको नाममा ६३ लाख सकियो, इन्धनमा मात्रै ८६ लाख खर्च

सवारी मर्मतको नाममा ६३ लाख सकियो, इन्धनमा मात्रै ८६ लाख खर्च

विराटनगर । विराटनगर महानगरपालिकाले मृतकका नाममा १६ लाखबढी सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदनमा यस्तो खुलासा भएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को बुँदा १५ अनुसार भत्ता खाइपाई आएको कुनै लाभग्राहीको मृत्यु भएमा मृत्यु भएको दिनसम्मको भत्ता निजको हकवालालाई भुक्तानी दिन सकिने व्यवस्था छ ।

तर, बैंकबाट प्राप्त स्टेटमेन्ट लगायतका विषय परीक्षण गर्दा मृत्यु भएका लाभग्राहीले पाउने रकमभन्दा बढी रकम बैंक दाखिला गरेको देखिएकाले आवश्यक छानबिन गरी बढी दाखिला भएको रकम असुल गर्न महालेखाले महानगरलाई प्रतिवेदनमार्फत सुझाव दिएको छ ।

प्रतिवेदन अनुसार यस्ता सेवाग्राहीको संख्या २६६ छ । उनीहरुलाई १६ लाख ९ हजार १०० रुपैयाँ भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रमुख र उपप्रमुखलाई सल्लाहकार राख्न पाउने व्यवस्था नभए पनि ऐन विपरीत महानगरपालिकाले ३ जना कानुनी सल्लाहकार र एक जना सम्पर्क अधिकृत नियुक्त गरी वार्षिक १८ लाख ९८ हजार १४० रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमाउल्लेख छ ।

ऐनमा निजी सचिवको तह र पारिश्रमिक समेत उल्लेख नगरिएकोमा कानुन विपरीत प्रमुखका निजी सचिव लोकेन्द्र प्रसाद तिम्सिना र उपप्रमुखको निजी सचिव मनिष श्रेष्ठ नियुक्त गरी ९ लाख ११ हजार ४७० रुपैयाँ दिइएको प्रतिवेदनमा जनाइएको छ ।

यस्तै महानगरपालिकाले अतिरिक्त भत्ताको नाममा ४३ लाख ९६ हजार ९३८ रुपैयाँ सकेको छ भने खाना तथा विविध खर्चमा मात्रै १ करोड १० लाख रुपैयाँ खर्च गरेको छ । कानुन विपरीत अनुगमन भत्ताको नाममा १६ लाख ९८ हजार रुपैयाँ खर्च गरेको, कोभिडको समयमा क्वारेन्टिनमा खाना, खाजा खर्चको नाममा हचुवाको भरमा ४० लाख ६ हजार २५३ रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

महानगरपालिकाको चालु खर्चतर्फ पनि अनियमितता भएको देखाएको छ । महालेखाले भर्पाई बेगर ज्यालादारी कर्मचारीलाई भुक्तानी दिएको, लागत अनुमान स्वीकृत बेगर मर्मत खर्च गरेको, प्रतिस्पर्धा बेगर क्वारेन्टिनमा खाना खर्च दिएकोजस्ता विभिन्न १५ वटा शीर्षकमा नियम विपरीत ७६ लाख ४२ हजार ४४४ रुपैयाँ खर्च भएको जनाएको छ ।

महालेखाको प्रतिवेदन अनुसार विराटनगर महानगरपालिकाको एक वर्षको इन्धन खर्च ८६ लाख ६७ हजार १०५ रुपैयाँ छ । उक्त खर्च मापदण्ड बिना गरिएको महालेखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.