भर्खरै : Sorry, your browser does not support inline SVG.

सशस्त्र संघर्ष एउटै मात्र समाजवादी व्यवस्था स्थापना गर्ने उपाय हो : अध्यक्ष बिजुक्छे

सशस्त्र संघर्ष एउटै मात्र समाजवादी व्यवस्था स्थापना गर्ने उपाय हो : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले उक्त कुरा बताएका हुन । अध्यक्ष बिजुक्छेले निर्वाचनबाट समाजवादी व्यवस्था लागू गर्ने विचार नै संशोधनवाद भएको चर्चा गरेका थिए ।

क्रान्तिको वातावरण तयार भएर पनि क्रान्ति नगर्ने दक्षिणपन्थी अवसरवाद र क्रान्तिको वातावरण तयार नहुँदै क्रान्ति गर्ने वामपन्थी अवसरवाद भएको बताउदै दक्षिणपन्थी र बामपन्थी अवसरवादबाट मुक्त भई राजनैतिक संघर्षलाई अगाडि बढाउनुपर्नेमा अध्यक्ष बिजुक्छेको जोड थियो ।

जनतालाई राजनैतिक रुपले सचेत पार्दै सशस्त्र क्रान्तिमार्फत समाजवादी व्यवस्था लागू गर्न राजनैतिक संघर्ष अगाडि बढाइरहेको नेमकिपालाई संकीर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल र दलका नेताहरु संशोधनवादी र अवसरवादी भएको उनले बताए । राजनीतिक दलमा स्वच्छता नभएकोले देश पछि परिरहेको बताउँदै उनले पद पाउनकै लागि राजनीति गर्नेहरुले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने तर्क गरे ।

नेपालमा पश्चिमेली संसदीय राजनैतिक प्रणालीमा प्रखर प्रतिपक्ष र छायाँ सरकारको व्यवस्था हुने राजनीतिक प्रणाली लागु रहेको चर्चा गर्दै उनले हाल नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने चिनियाँ राजनैतिक प्रणालीको अभ्यास गर्नु विरोधाभाषपूर्ण रहेको स्पष्ट पारे ।

कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरसभा नगरपालिकाको व्यवस्थापिका भएको बताउँदै सभाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको लागि आवश्यक ऐन कानुन, नीति नियम, निर्देशिका तथा कार्यविधिहरु तयार गर्दै आएको जानकारी दिए ।

स्वायत्तताको नाउँमा स्थानीय तहमाथि संघ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या भएको बताउँदै उनले संघ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको निकाय जस्तो व्यवहार गर्नु स्वायत्तता र संविधानको भावना विपरीत भएको बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले नेमकिपाको घोषणापत्र अनुसार देश र जनतामा समर्पित भई काम गरिरहेको चर्चा गर्दै जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासले नपाले आजको सफलता हासिल गरेको बताइन ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नगरसभाको सफलताको शुभकामना दिँदै अनुशासन, सुशासन, कला संस्कृति संरक्षण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भक्तपुर उदाहरणीय रहेको बताए । संविधानले परिकल्पना गरेको संघीयता अभ्यास गर्ने क्रममा भक्तपुरमा सुशासन, शान्ति सुरक्षा कायम गर्न सबैसँग हातेमालो गरी अगाडि बढ्ने बताउँदै उनले नगरसभाले आवश्यक ऐन कानुन तर्जुमा गर्न सफलता मिल्नेमा विश्वास व्यक्त समेत गरे ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पताल बनाउन भक्तपुर नपाको विशेष पहल भएको बताउंंदै भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण उपचार सेवा उपलब्ध भएको जानकारी दिए ।

मेडिकल अन्कोलोजीको अध्ययन अध्यापन पनि भक्तपुर क्यान्सर अस्पतालबाट गराइरहेको जानकारी गराउंदै उनले भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरका बिरामीलाई प्यालेटिभ केयर दिंदै आएको बताए । ख्वप ईन्जिनियरिङ कलेजका प्रँचार्य सुजन माकले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्यसहित सञ्चालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इ.ले सर्वसाधारण जनतालाई कम शुल्कमा गुणस्तरीय इन्जिनियरिन शिक्षा प्रदान गर्दै आएको बताए ।

कलेजमा अध्ययनरत छात्रा विद्यार्थीको तथ्यांक उल्लेखनीय भएको बताउंदै उनले देशैभरिका जिल्लाका विद्यार्थीहरु दुवै कलेजमा अध्ययनरत रहेको बताए । नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले समेत नगरसभाको सफताको शुभकामन दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.