सहिद सप्ताह औपचारिकतामा मात्रै सीमित

सहिद सप्ताह औपचारिकतामा मात्रै सीमित

काठमाडौं । प्रजातन्त्र स्थापना गर्न र स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा गरिने सहिद सप्ताह औपचारिकतामा मात्रै सीमित भएको छ । सहिद दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिए पनि यस वर्ष कोरोनाका कारण औपचारिकतामा मात्रै सीमित रहेको हो । दिवसका अवसरमा सहिदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने राष्ट्रपति भण्डारीको भनाई छ ।

सहिद सप्ताहको मुख्य दिन आइतबार प्रभातफेरी कार्यक्रम पनि नहुने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । विगतमा माघ १६ गते सहिद दिवसको दिन बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गरी लैनचौरको सहिद स्मारकमा पुगेर ज्ञातअज्ञात सहिदको सम्झनामा गरिन्थ्यो । सहिदको बलिदानबाटै नागरिकको शासन स्थापित भएको भन्दै देशमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिदप्रति प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ‍ टेकुको पचलीमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । सहिद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । कोरोना सङ्क्रमण जोखिम र महामारीका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको हो ।

 


Thali Mobile Pvt.Ltd.