साढे ११ करोड लिटर मेलम्चीको पानी वितरण सफल

साढे ११ करोड लिटर मेलम्चीको पानी वितरण सफल

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन ।

हिजो बेलुकीदेखि १२ करोड लिटर पानी वितरण गरिएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए । मेलम्चीको पानी वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ ।

हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको हो । कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने छ ।

चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए ।मेलम्ची खानेपानी आयोजनाले मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको पन्तले जानकारी दिए ।

सुरुङ् सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.