सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयलाई बुझाइदै

सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयलाई बुझाइदै

काठमाडौं । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने तय भएको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बताइन् । आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीले तयारी थालेको छ ।

सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पु¥याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.