काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरू गाउँ केन्द्रित भएका छन् । दलका प्रमुख नेताहरू अहिले गाउँ गाउँमा पुगेरनिर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भइरहेका छन् ।
निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने मिति सार्वजनिक गरिसकेको छ । मनोनयन दर्तादेखि फिर्ता, मतदानलगायतका कार्यक्रम सार्वजनिक भएसँगै नेताहरूको दौडधूप गाउँ केन्द्रीत भएको हो ।
प्रतिपक्षी एमाले उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेको छ । उम्मेदवार छनोटको मापदण्ड तोकिएसँगै स्थानीय तहमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु भएको एमालेले जनाएको छ ।
प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उम्मेवाद छनोटका लागि सोही तहको कमिटीबाट तीन जनाको सिफारिस हुने, वडा र सदस्यको उम्मेवादर जिल्ला कमिटीले टुंगो लगाउने, पालिकाको अध्यक्ष एवं मेयरको उम्मेवार प्रदेश कमिटीले टुंगो लगाउने जिम्मेवारी पाएको प्रवक्ता गुरुङले बताए ।
महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसका आधारमा केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउने छ । त्यसका लागि जिल्ला कमिटी र प्रदेश कमिटी उम्मेदवारको नामावली सिफारिस गर्नुपर्ने उनको भनाइ छ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा लागेका छन् । शनिबार सिन्धुली पुगेका प्रचण्डले यसअघि लुम्बिनी, मधेस प्रदेशका विभिन्न जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
यसैबीच नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा कमान्डर परिचालन गरेको छ । एकीकृत समाजवादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियानमा होमिएको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले एक जिल्ला एक केन्द्रीय सदस्य परिचालन गरेको छ ।
तर, लोकतान्त्रिक पार्टी नेपाल (लोसपा)को बैठक अझै बस्न सक्ने अवस्था छैन । निर्वाचन केन्द्रित कार्यक्रममा जसपा जोडतोडका साथ लागिसकेको भए पनि लोसपा अहिले केही कार्यक्रम सार्वजनिक गरेको छैन ।
