भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

स्वर्गकी अप्सरा हेर्न रारा जाने होइन ?

स्वर्गकी अप्सरा हेर्न रारा जाने होइन ?

काठमाडौं । फुर्सदको समयमा रारा जाने सपना देख्ने नेपाली सायदै होलान । हरेक नागरिकलाई रारा पुग्ने धोको छ । जब फुर्सदको समय आउँछ अनि राराको याद आइहाल्छ । मानिसहरुलाई राराको याद पनि किन नओस रारा स्वर्गकी रानी वा अप्सराको रुपमा रहेकाले पनि होला आन्तरिक वा बाह्य पर्यटकको रोजाइमा पर्ने ।

हरेक वर्ष राराको सपना देख्ने अनि यात्रा पुरा गर्ने अवसर पनि पर्यटकहरुलाई जुरेको हुन्छ । नेपालको सबैभन्दा ठूलो ताल रारा जाने सिजन वा अवसर सुरु भएको छ । समुन्द्र सतहबाट दुई हजार ९ सय ७२ मिटरको उचाइमा रहेको राराताल कर्णाली प्रदेशको मुगुु जिल्लामा पर्दछ ।

रारा घुम्न अन्य मौसमभन्दा चैतदेखि असारसम्मको मौसमलाई उपयुक्त मानिन्छ । सल्लाघारीले घेरिएको नीलो कञ्चन, स्निग्ध तालमा चंखेली, कान्जिरोवा हिमाल र सल्लाका प्रतिविम्बले पौडी खेलिरहेका हुन्छन् । यही प्रतिविम्बिमा यहाँ पुग्ने हरेक नागरिकले आफ्ना नयनलाई डुलाइरहेका हुन्छन् । मनका दुःख, कष्ट र दर्दहरुलाई भुलाई सुःखको अनुभूति गरिरहेका हुन्छन् ।

स्वर्गकी अप्सरा हेर्न रारा जाने होइन ?

आकाशको रङसँगै छिनछिनमा तालको रङ बदलेको देख्दा यस ताललाई दिइएको उपमाले सार्थकता पाएको आभास हुन्छ । हो, साच्चै रारा स्वर्ग नै हो । केहिले नीलो, कहिले कालो, कहिले सेतो रङमा परिणत हुँदा राराको सुन्दरतालाई शब्दमा वर्णन गर्ने शब्द भेटिदैन । जब रारातालमा बिहानीपख हिमालको छाया टलक्क टल्किन्छ तब रारालाई हेरेर धित मर्दैन ।

करिव १४ दशमलव ६ किमिमा फैलिएको रारा ताल १ सय ६७ मिटर गहिरो, ५ दशमलव १ किमि लम्बाइ र २ दशमलव ७ किमि चौडाइमा फैलिएको छ । यस ताललाई हिँडेर फन्को मार्न सात घण्टाको यात्रा गर्नुपर्ने हुन्छ । यस तालको वरिपरि साइक्लिङ, पैदल यात्रा र घोडामा घुम्न सकिन्छ । तालमा पौडी खेल्न र नुहाउन भने पाइदैन । चराचुरुङ्गीको चिरबिरसंगै तालमा बोटिङ गर्ने र छेउछाउतिर टेन्टमा रात बिताएर आनन्द लिन भने मज्जैले सकिन्छ ।

वि.स. २०२० सालमा राजा महेन्द्र शाहले कर्णाली क्षेत्रको भ्रमण गरेसंगै रारा दहका नामले परिचित यस तालको नाम महेन्द्र ताल राखिएको हो । राजा महेन्द्रले यस ताललाई स्वर्गकी अप्सरा भनेर वर्णन गरेको पाइन्छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली, कस्तुरी, रतुवा, लोपउन्मुख रेड पान्डा, काँडेभ्याकुर, हिमाली कालो भालु, घोरल, मृग, कस्तुरी, हिम चितुवा, चिर, नेपालको राष्ट्रिय चरा डाँफे, कालिज, गृष्मयाममा साईवेरियाबाट आउने साईवेरियन चरा लगायतले राराको थप शोभा बढाएका हुन्छन् ।

स्वर्गकी अप्सरा हेर्न रारा जाने होइन ?

आन्तरिक तथा बाह्य पर्यटकका लागि सपनाको गन्तव्य रहेको तालमा विश्वमा कतै नपाइने ‘स्नो ट्राउट’ असला माछासमेत पाइन्छ । ती माछालाई हेर्दै राराको छाललाई महसुस गर्न सकिन्छ । राराको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

कसरी पुुग्ने रारा ?
हरेक नागरिकको सपनाको रारा क्षेत्रमा पुग्न काठमाण्डौबाट स्थल र हवाई मार्गबाट पुग्न सकिन्छ । हवाई मार्गबाट जानका लागि काठमाडौं–नेपालगञ्ज र नेपालगञ्जबाट मुुगुुको ताल्चा विमानस्थल पुग्न सकिन्छ । ताल्चा विमानस्थलबाट करिव ३ घण्टाको पैदल यात्रा गरेर रारा ताल पुग्न सकिन्छ । हुन त ताल्चा विमानस्थलबाट जिपको यात्रा गरे १ घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ ।

स्थल मार्ग हुँदै रारा पुुग्न चाहानेका लागि काठमाण्डौं–नेपालगञ्ज हुँदै सुर्खेतबाट कर्णाली राजमार्गको बाङ्गेसिमल बडडीचौर कल्याणकाँध तल्लो डुंगिसर हुँदै दैलेख र कालिकोटको सीमाना पर्ने टुनेबगर, खिडकी जिउँला,जिते दैखोला कालिकोटको सेरीघाट मान्मा बजार पिली सेराबाडा हुँदै कालिकोट र जुम्लाको सीमाना पर्ने नाग्मागाढमा पुगिन्छ । नाग्मागाढबाट कोइरेली, नाराकोट, गोठीज्युला हँुदै करिव ३६ किलोमिटरको मोटरमार्गबाट उपत्यका हुँदै रारा ताल पुग्न सकिन्छ ।

कस्तो छ सिन्जा ?
वि.सं.१२०७ तिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले सिंजा उपत्यकामा खस साम्राज्यको स्थापना गरेका थिए । नागराजलाई जावेश्वर पनि भनिन्थ्यो रे । तिब्बती वंशावलीमा जावेश्वरलाई नागराज भनी उल्लेख गरेको ऐतिहासिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । खस राज्य पूर्वमा नुवाकोट, पश्चिममा कुमाउ गढवाल, उत्तरमा तिब्बत र दक्षिणमा कपिलवस्तुसहित तराईका धेरै भू–भागसम्म फैलिएको थियो ।

नागराजका सन्तान अशोक चल्लपछि जितारी मल्लले चल्लको सट्टा मल्ल लेखेको भन्ने भनाइ छ । खस राज्यको अस्तित्व नेपाल एकीकरण हुनुपूर्व २२६ वर्षसम्म रहेको थियो । खसहरू पूर्व शोभियत गणराज्य अजरबैजानको ककेसस पहाड हुँदै इरान, इराकको बाटोबाट भारतको हिमाञ्चल र उत्तराखण्ड प्रवेश गरेको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ । यसरी हिमाञ्चल र उत्तराखण्ड प्रवेश गरेका खसहरू ११औँ शताब्दीको अन्त्यतिर सिंजा उपत्यका प्रवेश गरी बसोवास गर्दै आएको देखिन्छ ।

सिंजा उपत्यका जुम्ला जिल्लाको पुरानो राजधानी हो । यो उपत्यका सिंजा नदी (हिमा) ले सिंचित गरेको उर्वरभूमिको रूपमा समेत परिचितछ । सिंजा उपत्यकालाई नेपालको कस्मिर भनेर पनि चिनिन्छ । काठमाडौंबाट तीन दिनमा जुम्ला सदरमुकामसम्म पुग्न सकिन्छ भने जुम्लाबाट ६–७ घण्टाको यात्रापछि सहजै रारा पुगिन्छ ।

पर्यटकका लागि के छन् मुुगुमा अन्य आकर्षणहरु
मुुगुु जिल्लामा राराको नीलो पानीभन्दा पृथक मन लोभ्याउने अनगिन्ती पर्यटकीय स्थलहरु छन् । यहाँ नेपाली एक रुपैयाँको नोटमा अंकित चंखेली हिमाल, कोटे राजदरबार, दुधे दहसहित ५ ताल हर्न सकिन्छ । रारा लगायत मुगुमा जिल्लामा साना–ठूला गरि १ सय भन्दा बढी ताल, कुण्ड रहेका छन् ।स्वर्गकी अप्सरा हेर्न रारा जाने होइन ?

पर्यटनका लागि कर्णाली क्षेत्र भर्जिन छ । यहाँका धेरै गन्तब्यहरु रहस्यको गर्भमै अस्ताइरहेका छन् । राज्यले कर्णालीलाई हेर्ने नजर फरक भएर पनि होला पर्यटनको अथाह सम्भावना बोकेरपनि बेखवर बनिरहेको छ कर्णाली । धेरै मानिसहरुले मुगुमा रारा ताल मात्र छ, सेरोफेरोमा अन्य कुनै पर्यटकीय गन्तव्य छैनन् भनेर समेत बुझिरहेका छन् ।

सम्भावना भएरपनि अहिलेसम्म रारा बाहेक अन्य गन्तव्यमा पर्यटक पुग्न सकेका छैनन । रारा तालबाट दुई–तीन दिनको पैदल यात्रा गरेपछि माथिल्लो मुगु, कोइजी मरक्का हिमाल, प्राचीन छायाँनाथको मन्दिर, त्यहाँको तामा खानी, तिहार गुम्बा, तिहार दोभानको अवलोकन गर्न सकिन्छ ।

रारा राष्ट्रिय निकुञ्ज रहेका यी क्षेत्रहरुमा रेडपान्डा, दुर्लभ सेतो कस्तुरी, नाउर, घोरल, गिद्ध, बाज, चीलजस्ता पशुपन्छीहरुको अवलोकन गर्न सकिन्छ । कान्जिरोवा हिमालको काखमा रहेको माथिल्लो मुुगुु क्षेत्रका पुलु, किम्री, डोल्फु, माग्रीमा मात्र १ हजार २ सय भन्दा बढी प्राचीन बौद्ध चैत्य तथा गुम्बाहरू छरिएर रहेका छन् । यो क्षेत्र यार्सागुम्बा, पाँचऔले, उत्तिस, कटुकी, भोल्तेजस्ता जडिबुटीको भण्डार समेत रहेको छ ।

रारा पुगेपछि पुग्नै पर्ने अर्को पर्यटकिय गन्तव्य मुर्मा टप पनि एक हो । तालबाट करिव २ घण्टाको पैदल यात्रा गरेर पश्चिम तर्फ रहेको मुर्मा टप पुग्न सकिन्छ । मुगुको रैथाने परिवेश भएको एकमात्र गाउँ मुर्मा गाउ भएर मुर्मा टपमा पुग्न सकिन्छ ।

समुद्रि सतहबाट तीन हजार ७ सय ७० मिटर उचाईमा अवस्थित मुर्मा टपबाट रारा तालको पुरै मनोमहक दृश्य तथा हुम्ला, बझाङ र हुम्ला जिल्लाको बिचमा पर्ने साईपाल हिमाल, दार्चुलामा पर्ने अपि हिमाल, रुकुममा पर्ने सिस्ने हिमाल, जुम्लामा पर्ने कान्जिरोवा हिमाल, मुगु जिल्लामा पर्ने कोईकि हिमाल, चंखेलि हिमाल छायानाथ, खेस्मा मालिका र ऋणमोक्ष दहको अवलोकन गर्न सकिन्छ ।

यहाँबाट चीनको निब्बत क्षेत्रका केही भूू–भाग र नेपालको बाजुुरा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल बडिमालिका लगायत सुुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित बडिमालिका, बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको प्राकृतिक सौन्दर्यको खानी खप्तड क्षेत्रका केही भू—भागको अवलोकन गर्न सकिन्छ ।

सपनामा बोकि हिडेको रारा जान धेरै हिसाबले सहज भइसकेको छ । रारा जाने हरेक नागरिक चाहना पुरा गर्न राज्यले पर्यटनमा नयाँ आयाम थप्नु पर्ने देखिन्छ । रारा जाने असहजतालाई देखाएर प्राकृतिक गर्भमै रहेका सन्दर छटाहरुलाई बाहिर ल्याउन सक्नु पर्छ । कर्णाली प्रदेशले राराको पानीलाई देखाउँदै आर्थिक उन्नतीको सारथी बनाउन सक्नु पर्ने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.