काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अदूरदर्शी र अनुभवविहीन शक्तिका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरे ।
नयाँ भनिएका राजनीतिक शक्तिहरूलाई लक्षित गर्दै ओलीले शासन सञ्चालनका लागि आवश्यक ज्ञान, सीप र अनुभवको अभाव रहेको टिप्पणी गरे । उनले सरकार सञ्चालनलाई कला र सीपसँग तुलना गर्दै अनुभव नभएका व्यक्तिलाई जिम्मेवारी दिँदा अपेक्षित परिणाम आउन नसक्ने बताए ।
ओलीले अनुभवहीन सरकारले आफूले गर्न सक्ने काम मात्रै गरिरहेको दाबी गरे । खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिँदा जस्तो अवस्था आउँछ, नयाँ भनिएका राजनीतिक शक्तिहरूले पनि शासन सञ्चालनको प्रक्रिया नबुझेको उनको भनाइ थियो ।
सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा त्यसबाट मुलुकलाई नै क्षति पुग्ने ओलीले बताए । उनले सिप नभएको व्यक्तिलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामसँग वर्तमान सरकारको अवस्थालाई तुलना गरे । शासन सञ्चालनका लागि पनि आवश्यक ज्ञान, क्षमता र अनुभव अनिवार्य हुने उनको भनाइ थियो ।
ओलीले भने, ‘सरकारले जे गर्न सक्थ्यो, त्यही गर्दैछ । अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा यस्तै हुन्छ । खाना बनाउन नजान्ने बच्चालाई भान्सामा पठाउँदा उसले तरकारी काट्नेदेखि चिया बनाउनसम्म सबै कुरा बिगार्न सक्छ । नाच्न नजानेकोलाई नचाउँदा राम्रो नाच्न सक्दैन, मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन । शासन चलाउन पनि त्यस्तै अनुभव, क्षमता र ज्ञान चाहिन्छ । जानेकाले गर्ने ठाउँमा अनुभवहीन र उरन्ठेउला व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आएको छ ।’
ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको दाबी गर्दै संविधानलाई सही बाटोमा फर्काउनुपर्नेमा जोड दिए ।
उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदमको संज्ञा दिँदै कार्यकाल बाँकी हुँदाहुँदै संसद् विघटन गर्नुको कारणबारे प्रश्न उठाए । ‘संविधान मिचिएको छ । अब संविधानलाई सही बाटोमा फर्काउनुपर्छ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक ढंगले चुनावको नाटक गरियो । प्रतिनिधिसभाको कार्यकाल अझै बाँकी हुँदाहुँदै किन विघटन गरियो ? समय हुँदाहुँदै संसद् विघटन गरेर फेरि अर्को संसद् किन आवश्यक पर्यो ? यसको जवाफ जनताले खोज्नुपर्छ,’ उनले भने ।
ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशनसमेत दिए ।
