हाङझाउ । १९औँ एसियाली खेलकुद अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने पदकविहीन अवस्थामा छ । हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।
सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा छ। यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा छ । जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा छ ।
उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा छ । हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा छ ।
निराशाजनक प्रदर्शन
हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत खेलमा नेपाली खेलाडीले निराशाजनक खेल प्रदर्शन गरेका छन् । टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भएका छन् । चारवटै स्पर्धामा पराजित भएको हो । पुरुष एकलतर्फ पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडीसित सोझो सेटमा पराजित भए ।
पुरुष एकलतर्फ नै नेपालका अभिषेक बाँस्तोला हङकङसित पराजित भए । यसैगरी महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियासित पराजित भयो । मिक्स डबल्समा नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडी इण्डोनेसियाका खेलाडीसित पराजित भयो ।
फेन्सिङमा पनि नेपालका सबै खेलाडी पराजित भएका छन् । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँच वटै खेलमा पराजित भए । उनी काजकिस्तान, हङकङ, उज्वेकिस्तान, इरान र साउदी अरेबियाका खेलाडीसित पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका राजेन्द्र गजुरेल कुवेत, हङकङ, चीन, भियतनाम, दक्षिण कोरिया र जापानका खेलाडीसित पराजित भए ।
महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङ, जापान, जोर्डन, दक्षिण कोरिया, मकाउ र थाइल्यान्डका खेलाडीसित पराजित भइन् । यस्तै गोमा आचार्य दक्षिण कोरिया, थाइल्यान्ड, जापान, सिंगापुर, युएई र चीनका खेलाडीसित पराजित भइन् ।
रग्बीमा पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपालको पुरुष टोली पराजित भयो । समूह सी मा रहेको नेपाल आइतबार यूएई, चीन र अफगानिस्तानसित पराजित भएको हो । सोमबार नेपाल फिलिपिन्स र थाइल्याण्डसित पनि पराजित भयो । सोमबार साइक्लिङ क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीले दौड पूरा गर्न सकेनन् ।
महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगर सहभागी भएका थिए । दुवै जनाले निर्धारित दूरी पूरा गर्न सकेनन् । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा भाग लिएका थिए । पुरुषतर्फ कूल १७ खेलाडी सहभागी थिए । महिलातर्फ १५ खेलाडी सहभागी थिए ।
महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल सोमबार जापानसित पराजित भएको छ । समूह बी अन्तर्गत नेपाल जापानसँग २२–४ अंकले पराजित भएको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान रहेका छन् ।नेपालले अब बुधबार काजकिस्तानसित तथा शुक्रबार ताइपेईसित खेल्ने छ ।
पुरुष बक्सिङमा सोमबार नेपालका रविन थापाले ५१ किलो तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरे । उनी अंकका आधारमा ४–१ ले विजयी भएका हुन् । रविनले अब प्रिक्वाटर फाइनलमा उत्तर कोरियाका खेलाडीसित खेल्नेछन् ।तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । तेक्वान्दोमा नेपालकी अञ्जली तामाङले मिश्रित खेल प्रदर्शन गरिन् ।
