काठमाडौं । पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलका छोरा निशान अमेरिकी सेनामा छन् । नेपाली नागरिकता र मतदाता नामावलीमा नाम अझै कायम रहेपछि उनको चर्चा चलेको छ।
निशानले अमेरिकी नागरिकता लिएको भए नेपाली नागरिकता कायम राख्नु र मतदाता नामावलीमा नाम रहिरहनु कानुनविपरीत हुन्छ भनेर आवाज उठिरहेको छ । नेपालमा दोहोरो नागरिकता लिन नपाइने कानुन भएकाले अमेरिकी सेनामा भएका उनले अमेरिकाको नागरिकता लिएका छन् ।
निशानले नेपाली नागरिकता त्याग्नुपर्ने तर्क छ । काठमाडौं क्षेत्र नम्बर २ को मतदाता नामावलीमा उनको नाम रहेको निर्वाचन आयोगको वेबसाइटमा समेत उल्लेख छ। नागरिकता ऐनअनुसार विदेशी नागरिकता लिएको व्यक्तिले नेपाली नागरिकता त्यागको सूचना दर्ता गराएपछि मात्र नेपाली नागरिकता कायम नरहने कानुन छ।
छोराले अमेरिकी नागरिकता लिएको इन्कार नगरेका खरेलले नेपाली नागरिकता त्याग्ने–नत्याग्ने छोराकै कुरा भएको जवाफ दिएका छन् । पूर्व कानुनमन्त्री खरेल झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा उम्मेदवार छन्।

