भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

असोज १ गतेदेखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन हुने

असोज १ गतेदेखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन हुने

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउँदो असोज १ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । काठमाण्डौ उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, आउँदो दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ । मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा शुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा गाडीको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताउनुभयो ।

द्रुत बस सञ्चालनका लागि सडकको लेन छुट्टै व्यवस्था गरिने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो । द्रुत बस सेवा सञ्चालनका लागि सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकारप्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।

अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भन्नुभयो । मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल, ट्राफिक प्रहरीका कार्यालयका प्रतिनिधि र यातायात व्यवसायी महासङ्घका पदाधिकारीसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । अहिलेका लागि अरु गाडीमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.