महोत्तरी । स्वर्गका राजा इन्द्रले तपस्या गरेर भगवान् शिवलाई प्रशन्न गराएको भनिने प्राचीन धार्मिकस्थल हो महोत्तरीको राइमण्डल । अहिले योस्थल संरक्षणको प्रतिक्षामा छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ स्थित भव्सी नदी तटको फाँटस्थित चुरे काछको राइमण्डलमा देवताहरुका राजा इन्द्रको चिनोका रुपमा रहेको इन्द्रेश्वर महादेव मन्दिर पनि छ ।
यो मन्दिरसहित यस प्राचीन क्षेत्र उपेक्षित जस्तै देखिन्छ । यसको संरक्षण र सम्वद्र्धनका कार्यक्रम भने कतै देखिँदैनन् । यो धार्मिक क्षेत्रमा पहाडको पाखामा धार्मिक मान्यताका देवीदेवताका मूर्ति कुँदिएका छन् । पाखाकै खापमा परेवाको बाक्लो बसाइँले सबैजसो आगन्तुकको ध्यान आकर्षित गर्दछ । तल फाँटमा स्वर्गका राजा इन्द्रले स्थापना गरेका विश्वास गरिएको इन्द्रेश्वर महादेव मन्दिर र देवालयहरु छन् ।
यो ठाउँमा यी पुरातात्विक महत्वका सम्पदाको संरक्षण, विकास र पर्यटकीय सम्भावनाबारे सङ्घीय र प्रादेशिक सरकार मात्र नभएर स्थानीय सरकार नै बेखबर रहेको राइमण्डलका बासिन्दाको गुनासो छ । नदी तटको फराकिलो फाँट, चुरे शृङ्खलाको काख, वरपर सघन वनक्षेत्र र पाखा अनि अग्ला पाखाका खापमा कुदिएका मूर्ति र पाहाडकै पाखाको खापमा बस्ने परेवाले ठाउँको विशेष महत्व दर्शाउँछन् । सघन वृक्ष र लताकुञ्जले मनमोहक यस ठाउँमा पुग्ने जोसुकै पनि आनन्दको अनुभूति गर्छन् ।
बिपी राजमार्ग बर्दिबास–सिन्धुली–बनेपा सडक को महोत्तरी जिल्लामा पर्ने पाटुबाट करीब चार किलोमिटर पश्चिम र पूर्वपश्चिम राजमार्गको बर्दिबास–४ को विश्वकर्माचोकबाट त्यति नै दूरी उत्तरको यो धार्मिकस्थलप्रति तीनै तहका सरकारको चासो भने नदेखिएको यहाँका बासिन्दा बताउँछन् । “उहिले स्वर्गका राजा इन्द्रले तप गरेका रे यहाँ खोइ ठूलाबडाले खोजी गर्दैनन्”, राइमण्डलका बासिन्दा ऐनबहादुर थापा मगर भन्नुहुन्छ, “सरकारको नजर परे हाम्रो ठाउँ पनि राम्रो बन्थ्यो कि रु”
राइमण्डलमा पछिल्लो समयमा स्थानीयतले ध्यान दिन थालेको बर्दिबास नगरपालिकाका जनप्रतिनिधिको भनाइ छ । “हामीले बिपी राजमार्गको पाटुबाट राइमण्डलसम्मको सडक स्तरोन्नतिको काम थालेका छौँ”, बर्दिबास–३ का वडाध्यक्ष राजन ढुङ्गाना भन्नुहुन्छ, “एउटा मन्दिर बनायौँ, थप काम क्रमशः अघि बढ्ने क्रममा छन् ।” यद्यपि राइमण्डलले पाउनुपर्ने जति महत्व नपाएको वडा सदस्य जुनु थापा मगर बताइन ।
बर्दिबास नगरपालिकाकै टुटेश्वरस्थित श्री टुटेश्वरनाथ, माइस्थानस्थित पञ्चधुरा माई मन्दिर जिल्लाकै मात्र नभएर प्रदेश–२ र सीमापारी भारतसम्म प्रसिद्धि फैलिएका धार्मिकस्थल हुन् । बर्दिवास–५ को मरहा नदी किनारमा चुरे पाहाडी शृङ्खलाको टाकुरामा टुटेश्वरनाथ शिव मन्दिर अवस्थित छ । “प्रकृतिले हाँमीलाई नदिएको हैन नि पाहाड, कन्दरा, नदी, मनोरम वनजंगल र धार्मिक परिचय, सबै छन् हाँमीसँग” बर्दिवास–५ टुटेश्वरका बासिन्दा वुद्धिराज काफ्ले भन्नुहुन्छ, “तर हामीले तिनको संरक्षण र सम्भार भने गर्न सकेनौँ ।”
वर्षेनी नेपाल र भारतका लाखौँ भक्तजन दर्शनका लागि आउने टुटेश्वरधामले सरकारी तहबाट समुचित ध्यान र चासो पाउन नसकेको काफ्लेसहितका टुटेश्वरबासीको गुनासो छ । पूर्वपश्चिम राजमार्गको महोत्तरीकै टुटेश्वरचोकबाट उत्तरतर्फ सात किमी वनक्षेत्र छिचोलेर पुगिने टुटेश्वरधाममा वर्षेनी साउनमा देश विदेश नेपाल र भारत का गरी लाखौँ भक्तजन पुग्दछन् । त्यसैगरी महाशिवरात्रि र वालाचतुर्दशीमा दर्शनार्थी भक्तजनको यहाँ घुइँंचो लाग्ने गर्छ ।
बाक्लो वनक्षेत्रबीचको टुटेश्वरचोक र त्यहाँबाट थप सात किमी वनक्षेत्र नै छिचोलेर पुगिने टुटेश्वरधामको प्राकृतिक सौन्दर्यले धेरै धार्मिक तथा अरु पर्यटक तान्ने गरेको छ । “ए जगह तो लगता है, स्वर्गका एक टुकडा आ गिरा हो” ९यो ठाउँ त लाग्दछ स्वर्गबाट झरेको एउटा सुन्दर टुक्रा हो० मन्दिर परिसरमा भेटिनुभएका भारतको सीतामढीका राजेन्द्र ठाकुर भन्नुहुन्छ ।” बाहिरबाट आएका कुनै श्रद्धालु होटल तथा अन्य सुविधाका कारण यहाँ रात बिताउन भने समस्या हुने आफूले देखेको उहाँले बताउनुभयो ।
भारतीय श्रद्धालुले दिने यस्ता सुझावमा न स्थानीयको र नत स्थानीय सरकारको नै ध्यान पुगेको छ भन्नुहुन्छ बर्दिबास–५ कै छिमेकको बस्ती गणन्ताका सामाजिक कार्यकर्ता कारमान स्याङ्वा । यसैगरी बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिरको प्रसिद्धि पनि धेरै टाढासम्म फैलिएको छ । देवी आदि शक्तिपीठ मानिने यो मन्दिर पूर्वपश्चिम राजमार्गको माइस्थानचोकबाट करिब दुई किमी उत्तर अवस्थित छ । एक दशकअघिसम्म मन्दिर परिसरका तलाउमा कञ्चन पानी कलकल बगिरहेको र तलाउभरि नै ढाकेर ढकमक्क कमल फुलेको देखेका दर्शनार्थी अहिले पुग्दा वेचैन हुन्छन् ।
अहिले यहाँ न तलाउमा पानी छ र नत कमलका पूmल नै । सफा र पवित्र हुनुपर्ने मन्दिर परिसरमा जताततै झुत्रा कागज र प्लाष्टिक फालिएको छ । त्यहाँ पुग्ने श्रद्धालु यो अवस्थाप्रति चित्त दुखाउँछन् । विवाह, व्रतवन्ध, छेवर केश मुण्डन जस्ता शुभकार्य र नयाँ सवारी साधन लिएपछि त्यसको पूजापाठ गर्ने श्रद्धालुको माई मन्दिर परिसरमा भीड नै देखिन्छ । टाढाटाढाबाट भाकलस्वरुप पुजा गर्न आउनेहरु पनि बाक्लै हुन्छन् । जिल्लाको मात्र नभएर प्रदेश–२ कै धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना भएको यो ठाउँ सम्बद्ध पक्षको बेवास्ताका कारण छायाँमा पर्दै गएको छ ।
यीबाहेक बर्दिबास–३ कालापानीस्थित रातु नदी तटको लक्ष्मीनारायण मन्दिर र बर्दिबास–२ हटियाचोकस्थित दुर्गा मन्दिर र कामेश्वरनाथ महादेव मन्दिर बर्दिबासका महत्वपूर्ण धार्मिकस्थल मानिन्छन् । महोत्तरीका यी र अन्य सबैजसो पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थलले अस्तित्वको सङ्कट झेल्दैछन् । कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अस्तित्व नै जोगाउन सङ्कट पर्ने स्थितिमा पुगेका छन् ।
हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा कतैबाट पहल भने हुन सकेको छैन । जिल्लामा हिन्दू परम्पराका मठ–मन्दिर, इस्लाम परम्पराको रौजामजार र बौद्ध परम्पराका गुम्बाहरु छन् । जिल्लाका यी पुरातात्विक महत्वका स्थलको संरक्षण–सम्वद्र्धन हुन नसक्दा क्रमशः खण्डहर बन्दै जाने स्थिति बनेको आम टिप्पणी सुन्ने गरिएको छ । प्राचीन कालदेखिका प्रसिद्ध शिवालयहरुमा साउन महिना र महाशिवरात्रीको अवसरमा लाखौँ श्रद्धालुको भिड लाग्ने गरेको छ ।
जिल्ला सदरमुकाम जलेश्वरस्थित श्रीजलेश्वरनाथ, भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित श्री सिद्धनाथ र सोनमाको मगरथानास्थित श्री मङ्गलनाथ आदिकालमै स्थापित प्राचीन शिवालय मानिन्छन् । यीमध्ये जलेश्वरनाथमा मन्दिर मर्मत्सम्भारको काम थालिए पनि वर्षां बितिसक्दासम्म काम सम्पन्न हुन नसकेको जलेश्वरवासी बताउँछन् । त्यसैगरी टुटेश्वरनाथ महादेव मन्दिरले मर्मतसम्भार नपाएको वर्षां बितिसकेको त्यहीँकै बासिन्दाको भनाइ छ ।
त्यस्तै अति प्राचीन श्रीसिद्धनाथ महादेब मन्दिर रातु र बडहरी नदीको बगरमै परिणत हुन थालेका छन् । यसको संरक्षणमा पनि कसैको चासो नदेखिएको सिद्धपुर बस्तीका परेखन सादा बताउनुहुन्छ । जिल्लामा प्रसिद्ध धार्मिकस्थलको कुरा उठ्दा बलवा नगरपालिका–३ पडौलस्थित कारिख महाराजस्थान, बलवा–१० धमौरास्थित ध्रुवकुण्ड सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ, भङ्गाहा–९ हरिहरपुर कञ्चनवनस्थित रामजानकी बिहार रामसीताले वनविहार गरेको स्थल, रामसीताको विवाहमा वेदी विवाह मण्डप बनाउन माटो खनिएको ठाउँ
मटिहानीस्थान, रामायणकालकै पितृमात्रृभक्त श्रवणकुमारका नेत्रविहीन बाबुआमा बस्ने ठाउँ मानिएको लोहारपट्टी नगरपालिकाको बगडा स्थान र पिपरा गाउँपालिकाको बनौलीदनौलीस्थित मैथिली भाषाका महाकवि विद्यापतिको किल्ला मानिएको विद्यापति गढ समुचित सम्भार र संरक्षण नपाउँदा बेवारिसजस्तै बनेका छन् । “यदाकदा यी सम्पदाहरुको संरक्षण र विकासका नाममा योजना बनेका कुरा सुनिन्छन्” लोहारपट्टी–६ का पुराना राजनीतिक कार्यकर्ता ७० वर्षीय चन्देश्वर मण्डल भन्नुहुन्छ, “यहाँका बारेमा योजनाहरु त बनेका सुनिएको हो ।
तर ती योजना स्थलमा नभएर कागजमै टुङ्गिने गरेका छन् ।” जनताले प्रयास थालिएको छ भन्ने अनुभूति गर्नेगरी कतै काम नहुँदा सबैतिर निरासा छाएको मण्डलको भनाइ छ । यसबाहेक औरही नगरपालिकाको भोइलस्थित श्री सोनामाई मन्दिर, जलेश्वर नगरक्षेत्रका भार्गव ऋषि आश्रम, सन्सारी माई मन्दिर, राजदेवी मन्दिर यहाँका प्राचीन धार्मिक धरोहर हुन् ।
जलेश्वर नगरक्षेत्रका अतिप्राचीन धार्मिक महत्वका पवित्र मानिने भार्गव सर तलाउ, पुरन्दर र वरुण सर सम्भार नहुँदा अब नगरभरिको फोहर थुप्रिने ठाउँ बनेका जलेश्वर–५ का बासिन्दा नेपाली काँग्रेस महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुहुन्छ । जिल्लामा हिन्दू परम्पराका यी धार्मिकस्थलबाहेक इस्लाम परम्पराका सुफी सन्त गदाअलि शाह, बहारअलि शाह र रहमअलि शाहका बलवा नगरपालिका–११ रौजाअवस्थित मजार समाधिस्त गरिएको ठाउँ सबै धर्म परम्पराका श्रद्धालुहरुका श्रद्धापूर्वक पुग्ने स्थान हुन् ।
रौजामजार भनेर चिनिने यस ठाउँमा आफ्नो मनोकाङ्क्षा पूरा हुने आस्थाका कारण दैनिक सयौँ सङ्ख्याका नागरिक पुग्दछन् । त्यसैगरी जिल्लाको गौशाला र बर्दिवास नगरक्षेत्रमा कैयौँ बौद्ध परम्पराका गुम्बा संरक्षणको पर्खाईमा छन् । यिनको सम्भार र विकासमा मुख्यरुपले सम्बन्धित स्थानीयतहले तत्परता र पहलकदमी देखाउनुपर्ने रौजाकै बासिन्दा मन्सुल कवारी बताउनुहुन्छ । यद्यपि, जिल्लाका यी प्राचीन सम्पदाले आवश्यक संरक्षण र वास्ता अहिलेसम्म पाउन नसकेका आम सर्वसाधारणको गुनासो छ ।
