भर्खरै : Sorry, your browser does not support inline SVG.

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

कैलाली । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ ।

यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी फागुन ३० गते नै सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी (होली)को अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व हो ।

यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो । त्यसअघि २०७४ सालमा पुनर्वास नगरपालिकाको ढक्कामा पहिलोपटक खखडेहरा महोत्सव आयोजना गरिएको थियो ।

के हो खखडेहरा पर्व ?
रानाथारु समुदायमा उल्लासपुर्वक खखडेहरा पर्व धूमधामसँग मनाइरहेका छन् । रानाथारु समुदायको पर्वमा नेपाल सरकारले विदा दिने गरेको एक मात्र विदा खखडेहरा पर्वको बिदा हो । रानाथारु समुदायमा मात्रै सुनिएको खखडेहरा पर्व, २०७४ मा पुनर्वास न.पा. ढक्कामा प्रथम खख्डेहरा महोत्सव २०७४ पछि मिडियामा सुनिएको हो ।

गत बर्ष देखि प्रदेश सरकारले सुप प्रदेशमा विदा दिनथाले पछि एकाएक सुनिएको नौलो पर्व जस्तै लागे पनि यसपाली सरकारले नै विदा दिएको हो । रानाथारु समुदाय भिन्नै तरिकाले मनाउँछ होरी (होली) पर्व । होरी यस समुदायको लागि सबै भन्दा ठूलो पर्व हो । रानाथारु समुदायले ३८ दिनहोरी मनाउने गर्छन् ।

माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिन देखि होरी सुरु हुन्छ । माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा होरी जुन रातमा मात्र खेलिन्छ । फागुनको पुर्णिमा होरीमा आगो लगाउने गरिन्छ । होरीमा आगो लगाएको अर्कोदिनलाई टिका भनिन्छ । टिकाका दिनगाउँ भरिका मानिसले होरी जलेर भएको खरानी को टिका लगाउँछन् ।

यसरी टिका लगाउँदा सुस्वास्थ्य हुने । रोगनलाग्ने तथा दिर्घायु हुने जन विश्वास छ । टिकाको दिन देखि ८ दिन सम्म मरी होरी (मरेको होरी) खेल्छन् । मरी होरी रातमा र दिनमा पनि खेल्न पाईन्छ । टिकाको आठौँ दिन नै खख्डेहरा हो । खख्डेहरा भनेको होरीको बिदाईको दिनका रुपमा पनि लिइन्छ । खख्डेहराका दिन बिहानै उठेर गाउँ भरीका (हरेक घरबाट एक एक जना) मान्छे खख्डेहरा फुटाउन जाने गर्दछन ।

खख्डेहरा फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा, सतनजा (सातअन्न), शुद्ध पानी, कन्डी (सुकेको गोबर) आदी चाहिन्छ । घर घरबाट एका बिहानै खप्टोमा (माटोको भाँडोमा) सुइरो गाँसिएका मट्याँग्रा बोक्दै आबओ रिउ लुली लंगडी, कानी खुत्री, रोगधोग, भूत ब्यार भन्दै घर घरबाट खख्डेहरा लगेर जाने चलन छ ।

खख्डेहरा गाउँभन्दा बाहिर गाउँलेले ल्याएको सामग्री एक जुट पारी गाउँको प्रधान वा चाकर (गाउँको चौकीदार)ले फुटाउने चलन छ । खख्डेहरा फुटाइ सके पछि घर आइन्छ र आउने बेलामा खख्डेहरालाई फर्केर नहेर्ने चलन छ । फर्केर हेर्दा दानव (राक्षस) देखिन्छ भनेर रानाथारु पूर्खाको भनाई छ ।

खख्डेहरा फुटाएर आउनेहरु फेरि होलीमा जलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, पधना, अगुवा लगायत सबैको घर घरमा पुगी सबैलाइ सो खरानीको टिका लगाई आशिर्बाद दिँदै खुसियाली मनाउने गर्छन र गाउँका प्रतिष्ठित व्यक्तिबाट दक्षिणा पनि उठाउने गर्छन साथै सो दिन गाउँभरिका मान्छेले आफ्नो खेतिपाती, गोरु गाडा समेत बन्द गर्नुपर्ने चलन छ, कसैले अटेर गरि गोरु गाडा चलाएमा डण्ड (जरिवाना) गर्ने चलन रहिआएको छ ।

सदियौँ देखि तराईका जंगलको छेउछाउ गाउँमा बस्दै आइरहेका रानाथारु भूत पिचास, दरिद्र, महामारी जस्ता निकै ठुला बिपत्तिसँग जुद्धै आइरहँदा होरी नाचमा सबै महिनौँ रमाउँदा काममा बाधा का साथै थुप्रै समाजिक समस्या, रोग दरिद्र, भूत पिचास, स्वास्थ्य लगायत सबै क्षेत्रमा समस्या निस्तेज गर्न सामुहिक रुपमा खख्डेहरा फुटाउने चलन छ ।

खख्डेहरा सबै समस्या (भूतप्रेत)को प्रतिक पनि हो जो गाऊँ भन्दा बाहिर÷जंगल गएर आजकै दिन फुटाउने, कुट्ने गरिन्छ । तराई क्षेत्रमा गर्मी बढे सँगै महामारी, मलेरिया, प्रकोप बढ्ने समय सुरु भएकाले ति प्रकोपहरु नआउन भनेर सामुहिक रुपमा आदिवासी रानाथारुहरुले खख्डेहराको नाममा ति सबै समस्यालाई कूटेर फुटाइ गाउँमा मनोबल बढ्ने हुँदा भूतपिचास रहित सुखि समाजको लागि खख्डेहरा पर्वको प्रचलन भएको रानाथारुका जानकार बताउँछन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.