भर्खरै : Sorry, your browser does not support inline SVG.

आमा हुनेले आमाको मुख हेरौं नहुनेले पुजा गरौं, आज आमा पुज्‍ने महान् पर्व

आमा हुनेले आमाको मुख हेरौं नहुनेले पुजा गरौं, आज आमा पुज्‍ने महान् पर्व

काठमाडौं । आज आमा पुज्‍ने महान् पर्व हो । वैशाखकृष्ण औंसीका दिन छोराछोरीले श्रद्धा र सम्झना गर्ने महत्त्वपूर्ण दिनका रुपमा लिइन्छ । आमालाई देवता समान मान भनेर मातातीर्थ औंसीलाई विशेष दिनसँग गाँसिएको हो । मातातीर्थ औंसी वैशाख कृष्ण अमावश्यका दिनलाई मनाउने चलन छ।

आमाको महत्त्वलाई सम्मान गर्दै नेपालमा मातृ दिवस तथा आमाको मुख हेर्ने दिनका रूपमा विशेष रुपले मनाइन्छ । जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिने दिन हो । आमाप्रति सम्मान गर्दै गरिमा सम्झने दिन हो।

आमा जसले हामीलाई संसार देखाइन्, पाइला चाल्न तातेताते गर्दै सिकाइन् । दस महिनासम्म गर्भमा राखेर जन्माइन् । अनि काखमा राखेर पालिन्। देवीको प्रतिरूप अनि ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहिएको कुरा पूरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वीलोकका सम्पूर्ण आमाहरूलाई कोटीकोटी नमन छ ।

आमाकै विशेष स्नेह र लालनपालनमा हामी हुर्किएका हुन्छौं । त्यसैले यस दिनलाई बडो धूमधामसँग आमाको सम्झना र मंगलमय कामना गर्दै मनाइन्छ । आमा हुनेहरू वा नहुनेहरूले पनि यस पर्वलाई परम्परागत रूपमा आफ्नो संस्कृतको एक प्रमुख अंगको रूपमा मनाउने प्रचलन चलिआएको छ ।

संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा अनि पलपलमा सम्झना आउने, सुखदुःखमा झझल्को आउने एउटा अनुहार, आमा हो । हरेक वर्षको वैशाख कृष्णपक्षको औंसीमा आमाको मुख हेर्ने चलन छ, यस घडीलाई मातातीर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

यसरी आमाप्रति विशेषभक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ। बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ।

आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन्। यसैले यस दिन सबै नेपालीहरूले आ–आफ्नो आमा हुने या नहुने सबैले यो पर्व धूमधामका साथ मनाउने गर्छन् । यसैले होला यो जन्म दिने आमा तथा जन्मभूमि स्वर्गभन्दा प्यारो र पवित्र हुन्छ।

 


Thali Mobile Pvt.Ltd.