भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

उत्तरी रसुवामा निर्मित माथिल्लो साङ्जेनबाट विद्युत् उत्पादन शुरु

उत्तरी रसुवामा निर्मित माथिल्लो साङ्जेनबाट विद्युत् उत्पादन शुरु

काठमाण्डौ । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन शुरू भएको छ । माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा पठाउने काम सम्पन्न गरिएको हो ।

साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण शुरू भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युत्को राष्ट्रिय प्रसारण लाइनमार्फत् केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।

विद्युत् उत्पादनका लागि समुन्द्र सतहबाट दुई हजार तीन सय ५० मिटरको उचाइ तिलुचे बगरमा बाधबाँधी एक हजार तीन सय मिटर भूमिगत सुरूङ एवम् एक सय ५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेण्ड ११ दशमलव छ घनमिटर पानी सिम्बू गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्‍याएको छ ।

तीन वटा फ्रान्सिस टर्वाइनमार्फत् वार्षिक रूपमा आठ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट वार्षिक ४० करोड रुपैयाँ आय हुने प्रबन्ध निर्देशक ढुङ्गेलले बताउनुभयो।

विद्युत् गृह रहेको स्थान समुन्द्र सतहदेखि दुई हजार एक सय ८० मिटरको उचाइमा रहेको छ । यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले एक सय एक दशमलव आठ मेगावाट विद्युत् उत्पादन गराएको छ ।

यसभन्दा अगाडि विसं २०६० मा २२ मेगावाट क्षमताको चिलिमे, विसं २०७१ मा पाँच मेगावाट क्षमताको मैलुङ्खोला र विसं २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.