काठमाडौं । चार दिन सम्म मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर बिहीबार पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।
हिजो काठमाडौं स्थित आयोजना गरिएको पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा गरेकी थिइन् । तराईको मुख्य पर्वका रुपमा सिमित भएको छठ पर्व पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने गरिन्थ्यो भने यसपालि छठ पूजा टोलटोल, गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको छ ।
बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी भएर विशेषगरी काठमाडौमा पनि भव्यताका साथ पर्व मनाइएको छ । तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा परिचित यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दै गएको छ । छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन ।
पर्व मनाउँदा छालारोग निको हुने, पुत्रलाभ हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जस्ता जनविश्वास रहि आएको छ ।
