Child-marriage
बालविवाह गर्नेमा मुक्त कमैया समुदायका किशोर–किशोरी बढी रहेका छन् । बढ्दो मोबाइल र इन्टरनेटको प्रयोगले बालविवाह गराउनमा महत्वपूर्ण भूमिका खेलेको उहाँ बताउनुहुन्छ । “फेसबुकलगायतका समाजिक सञ्जालमार्फत चिनजान गर्छन्”, उहाँले भन्नुभयो, “त्यही चिनजानका कारण सानै उमेरमा भगाएर किशोरी घरमा ल्याउँछन् ।” बीचमै विद्यालय छाड्ने बालकले मजदुरी जाँदा कमाउको पैसाले मोबाइल खरिद गर्ने गरेका छन् । बालविवाह गर्दा विवाह दर्तासँगै सानै उमेरमा जन्मेका शिशुको जन्मदर्ता नहुने गरेको उहाँले बताउनुभयो । “बालविवाह बढ्दै गएकाले जनचेतनाको कार्यलाई प्रभावीरूपमा फैलाउनुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “बडघर, जनप्रतिनिधिले सामाजिक कुरीतिलाई रोक्नका लागि लाग्नुपर्छ, स्थानीय तहले बालविवाहविरुद्धका कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।” नौखरीस्थित जनभावना आधारभूत विद्यालयका प्रध्यानाअध्यापक पुष्पराज भट्ट मुक्त कमैया परिवारमा बालविवाह बढ्न थालेपछि विद्यालयमा पढ्दै आएका बालबालिकालाई बालविवाह गरेमा स्वाथ्यमा हुने हानीका बारेमा सचेत पार्दै आएको बताउनुहुन्छ । बालविवाहकै कारण बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । “गएको शैक्षिक सत्रमा मात्रै २४ जना बालबालिकाले विद्यालय बीचमै छाडेका छन्”, उहाँले भन्नुभयो, विद्यालय छाड्नेमध्येका सात जना बढीले बालविवाह गरेका छन् ।” सानै उमेरमा वालविवाह गरे बालवालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा अवरोध हुने गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार बालविवाह गर्ने बालिकामा प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने कार्यसँगै जीवनमा दीर्घकालीन असर पर्ने गर्दछ । “बीस वर्षमुनिका गर्भवतीका तीन गुणा बढीले मातृमृत्युको जोखिममा रहने गर्दछन्”, उहाँले भन्नुभयो, “बालविवाहका कारणले बालिकाहरू शरीरिक, मानसिक, यौनिक र घरेलु हिंसाको बढी जोखिमा पर्ने गरेका छन् ।” मुुलुकी अपराधसंहिता, २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न नपाउने व्यवस्था रहेको छ । उमेर नपुगी हुने विवाह स्वतः बदर हुने व्यवस्था मुलुकी अपराधसंहितामा गरिएको छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र रु तीस हजार जरिवाना हुन्छ ।
