भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

चितवन । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् ।

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए । उनले भने, “चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ । चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ ।”

दसैँमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए । यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रिँदै गएको उनको भनाइ छ । उनले थपे, “मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्”, केहीले दसैँका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उनको भनाइ छ ।

इच्छाकामना –२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाउनुभयो । अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उनले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, “सोझा जाति भएकाले देखासिकी बढेको छ । यसलाई रोक्न हामीले प्रयास गरेका छौँ ।”

कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजा यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताए । चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनले सुनाउनुभयो । पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

उनले भने, “मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दसैँ मनाउन बाध्य छन् ।” चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता रहेको उनले बताए । चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन् ।

 


Thali Mobile Pvt.Ltd.