धनगढी । अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै देउवाले संसदबाट पारित गरेरै छाड्ने बताए ।
बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिम पुगेका देउवाले बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताए । नेपालकै कानून मातहत रहने भएकाले यो पास हुने दावी गरे ।
देउवाले भने, ‘ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन, उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ।’
बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा स्थलगत निरीक्षण गरेर फर्किएका देउवा शुक्रबार कैलालीको टीकापुर जाँदैछन् ।
