भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

मान्म । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।

कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । “कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्”, उहाँले भन्नुभयो, “जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन् । यी पहिला थिएनन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले उच्च जोखिममा रहेका छन् ।”

कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए। “विसं २०७३ मा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो”, उहाँले भन्नुभयो, “तर पनि उच्च जोखिममा रहेका नागरिक बस्ती सर्न मान्दैनन् ।” कालीकोटमा उच्च जोखिममा रहेका यी ठाउँका बजारवासी वर्षौंदेखि बसिरहेका कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि नदीको छेउछाउमा अहिले कयौँ ठाउँमा बजार बनेको नरहरिनाथ–१ लालीघाटका स्थानीय व्यापारी नेत्र विष्टले बताए ।

“लालीघाट बजार र नदी किनारको दूरी पहिले २५ मिटर थियो तर नदीमा आइतबार रातिदेखि पानीको बहाव बढेर नदीको छालले बजार छोइसकेको छ । यही गतिमा नदीमा पानीको बहाव बढ्दै गएपछि कुन बेला बजार डुब्छ थाहा छैन”, उहाँले भन्नुभयो, “यी नदी किनारमा बनेका बस्ती नयाँ हुन् । नागरिकहरू रोजीरोटीका लागि पनि जोखिम मोलेर नै व्यापार व्यवसाय गरिरहेका छन् ।” कालीकोटको पचालझरना गाउँपालिकाको भुराबगर बजार पनि बाढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए।

“बस्तीका नागरिकलाई अन्यन्त्र जानका लागि कयौँ पटक भनिसक्यौँ तर, उहाँहरू मान्नु हुन्न”, उहाँले भन्नुभयो, “बजार नै बनाएर बसेको कारणले उहाँहरुले मान्नुभएको छैन् । भोलि ठूलो जोखिम निम्तिन सक्छ ।” जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा बजारहरु अन्यन्त्र सार्न आग्रह गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

“जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैशाख महिनादेखि नै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा बस्ती नै सार्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “अटेरी गरेर बसेको ठाउँमा अहिले पनि जोखिमका विषयमा जानकारी दिएर सचेत गराइरहेको छौँ ।” कालीकोटमा गत वर्षमा बाढी पहिरोमा परी ५३ जनाले ज्यान गुमाउनुका साथै करोडौँको धनमाल नष्ट भएको थियो । एक हजार घरपरिवार विस्थापित भएका थिए । यस वर्ष वर्षायाम शुरु भएयता बाढी पहिरोमा परेर तीन जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.