काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘एक्सन रूम’मा आयोजना तेस्रो चरणको प्रगति र समस्याहरूबारे ब्रिफिङ सुनेपछि कर्मचारीको नियतमाथि आशंका रहेको बताएका छन् ।
तोकिएको समयमा काम पूरा नभएका आयोजनाहरू ठेक्काको व्यवस्थापनदेखि मुआब्जाका लागि आर्थिक स्रोत अभावजस्ता समस्यासँग जुधिरहेको छन् । समस्याले आयोजनाको लागत बढाइरहेको छ भने पूरा हुने अवधि पनि लम्ब्याइरहेको तर्क कर्मचारीको छ । बजेट अभाव भएको एक्सन रुममा उपस्थित सिक्टा सिँचाइ आयोजनाका प्रमुख देवराज निरौलाले सुनाए ।
बाँकेको ४२ हजार ७६६ हेक्टर जमिन सिँचाइ गर्ने भनिएको यस आयोजनाको हालसम्म ४० प्रतिशत काम सकिएको छ । मुआब्जा वितरणका लागि बजेट छैन । पूर्वी र पश्चिमी नहरमा समानान्तर रूपमा काम भइरहेको भन्दै उनले बजेट सुनिश्चित भए कार्यतालिका बनाएर काम गर्न सक्ने प्रधानमन्त्रीलाई सुनाए ।
निरौलापछि महाकाली तेस्रो सिँचाइ आयोजना निर्देशक कुसाङ शेर्पाले भर्चुअल रूपमा प्रधानमन्त्रीलाई प्रगति विवरण सुनाए । उनले ४८ किलोमिटर लामो नहरको २८ किलोमिटर तयार भएको छ । २२ वटा शाखा नहर बन्दैछन् । तर, शाखा नहरमा पर्ने जग्गामा मुआब्जा वितरणमा समस्या रहेको बताए ।
कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रमा ३३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य भएपनि निर्माणमा धेरै समस्या देखिएको शेर्पाले सुनाए । ठूला विकास आयोजनालाई गति दिन प्रधानमन्त्रीबाटै अनुगमन गर्ने गरी तयार भएको ‘एक्सन रुम’मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका उच्च अधिकारीहरु सहभागि थिए ।
उनीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले सरकारी कार्यशैलीप्रति नै असन्तुष्टि जनाए । पटक–पटक म्याद र लागत थपिँदा सरकारको सामर्थ्यमा नै प्रश्न उठेको भन्दै प्रधानमन्त्रीले कर्मचारीको नियत र क्षमतामा प्रश्न गरे ।
