भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवन भव्य समारोहकाबीच उद्घाटन गरिएको छ । शनिवार च्याम्हासिंहस्थित अस्पताल प्रांगणमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुुक्छेंले उद्घाटन गरेका हुन् ।
जनसहभागितामा ख्वप अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित)ले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रिकरणको अधिकार दिनु पर्ने भन्दै प्रदेश सरकारको आवश्यकता नरहेको बताए ।
दुर्गम ठाउँमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाई सक्रिय रुपमा काम गर्न सके सरकारको आधा काम सहजै सम्पन्न हुने जिकिर गरे । जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताले निःस्वार्थ रुपमा देश र जनताको सेवामा गर्न एकढिक्का भएर काम गर्न अनुरोध गरे ।
देशको परिस्थिति विकराल बन्दै गइरहेको भन्दै उनले भारतको प्रभाव नेपालमा बढिरहँदा नेपालको अवस्था झन् झन् बिग्रिने बताए । नेपालमा दिल्लीको प्रभाव बढ्दै जाँदा राजनीतिक अस्थिरता बढ्दै गएको दावी गर्दै अध्यक्ष बिजुक्छेंले सचेत रहन आग्रह गरे ।
नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न पनि भारतकै भर पर्नु देशका लागि घातक हुने बताए । न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्ने कुरा आफैमा गलत भएको भन्दै उनले कार्यपालिका र विधानपालिकामा समेत भारतको छायाँ परेको इंगित गर्दै संघर्षको निम्ति देशभक्त जनता एकजुट भएर संघर्ष गर्नुपर्ने बताए ।
यसैबीच स्वास्थ्य मन्त्रालयले ख्वप अस्पताल स्वीकृतिमा ढिलाइ गरेका कारण ख्वप अस्पताल सञ्चालनमा ढिलाइ भएको कार्यक्रमलाई संम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालल बताए । ख्वप अस्पतालले जनतालाई राम्रो स्वास्थ्य उपचार दिनेमा विश्वास व्यक्त गर्दै सुवालले सरकारी अस्पताल राम्रो भए मात्र गरिब जनताले सहज रुपमा स्वास्थ्य उपचार पाउने बताए ।
क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधी उपलब्ध नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु परेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले विदेशबाट ल्याउनुपर्ने औषधी सरकारले तत्काल ल्याउन पहल गर्नुपर्ने बताए ।
कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्रमार्फत स्वास्थ्य क्षेत्रमा ‘ख्वप अस्पताललाई सय शैयाको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य केन्द्रहरुको विस्तार गर्ने र विशेषज्ञहरुमार्फत नियमित स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने लगायतका प्रतिबद्धताअनुसार कार्य गर्दै आइरहेको बताए ।
२०३८ सालदेखि जनस्वास्थ्य केन्द्रको रुपमा सञ्चालित च्याम्हासिंहस्थित स्वास्थ्य केन्द्रलाई २०७८ साल वैशाख १७ गतेबाट विधिवत रुपमा ख्वप अस्पतालको रुपमा सञ्चालनमा ल्याएको अवगत गराए । प्रमुख प्रजापतिले जनताको साथ र सहयोग भए हरेक क्षेत्रमा सफलता हासिल गर्न सम्भव भएको उदाहरण ख्वप अस्पतालले दिएको बताए ।
एउटा उदाहरणीय कार्य गरेको भन्दै नगरबासी र कर्मचारीलाई धन्यवाद दिए । सरकारी अस्पतालहरुमा सुधार नहुँदा र बिरामीहरु स्वास्थ्य उपचारको लागि निजी अस्पतालहरुमा गइरहनुपर्ने बाध्यताको अन्त्य नभएसम्म जनता स्वास्थ्यकै कारण घरखेत बेच्न बाध्य हुनुपर्ने र ऋणको पासोमा परिरहने यथार्थ प्रस्तुत प्रजापतिले गरे ।
कार्यक्रममा नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेतृत्व राम्रो भएको खण्डमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न सम्भव छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले देखाएको बताए ।सेताे ड्रेस लगाएका सेना (एप्राेन) परिचालनमा पनि नगरपालिका सच्छम भएकाे बताए ।
नेमकिपाको लामो राजनीतिक जगकै कारण भक्तपुर आजको स्थितिमा पुगेको बताए । ख्वप अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न निरन्तरको संघर्षकै कारण आज उपलब्धी हासिल भएको जिकिर गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
सांसद गोसाईले स्वास्थ्य क्षेत्रबाट जनताको जीवनमा निःस्वार्थ सेवा गर्ने भावना ख्वप अस्पतालमा हुनुपर्ने बताए । यस्तै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशभरिकै उत्कृष्ट नगरपालिकाको रुपमा परिचित गराउँन अग्रज, जनप्रतिनिधि, नगरबासी, बुद्धिजीवी, पत्रकारलगायतको भूमिका महत्वपूर्ण भएको बताइन् ।
नगरलाई शिक्षित र सुन्दर नगरको रुपमा विकास गर्ने लक्ष्य बोकेको भक्तपुर नगरले कोभिड महामारीबाट जोगाउन जनतासँग हातेमालो गर्दै रोग नियन्त्रण र रोकथाममा लागि परेको उनको धारणा छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ख्वप अस्पताल उद्घाटन नगरबासीहरुको निम्ति गौरवपूर्ण समय भएको बताउँदै गुणस्तरीय र सर्वसुलभ स्वास्थ्यका लागि भक्तपुर नगरपालिकाको प्रयास प्रशंसनीय भएको बताइन् ।
सानो जिल्ला भएर पनि भक्तपुरमा संघ, प्रदेश र नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालबाट भक्तपुर लगायत देशभरका जनताले सहज स्वास्थ्य उपचार पाउनेमा आफु ढुक्क भएको धारणा राखिन् । भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले कोभिड नियन्त्रणमा भक्तपुर नपाले राम्रो काम गरेको उदाहरण दिए ।
भक्तपुर क्यान्सर अस्पतालमा डी.एम. अन्कोलोजीको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी गराए । भक्तपुर अस्पतालका मे.सु डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्नमा नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
भक्तपुर अस्पताल र नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा आवश्यक सहयोग गर्दै आउने भन्दै ख्वप अस्पतालको प्रगतिको कामना व्यक्त गरिन् । कार्यक्रममा स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर नगरपालिका आफ्नो नगरबासीहरुको सेवाका निम्ति दत्तचित्त भएर लागिरहेको बताए ।
अस्पतालले स्वास्थ्य सुविधाहरु थप गर्दै लानुपर्ने आवश्यकता औल्याए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले नेपाल सरकारको मुख नताकी जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्ट निर्माण गरी नगरबासीहरुलाई कोभिडमा गरेको सेवाको प्रसंशा गरे ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ सय ३० जनाभन्दा बढीको दिनहुँ डायलासिस गर्दै आइरहेको, ७७ जिल्लाका मृगौलाका बिरामीहरु उपचार गर्न आउने गरेको तथ्यांक प्रस्तुत गरे । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले निःशुल्क डायलासिसको सेवा सुरु गर्न आफू प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पतालको प्रगति प्रतिवेदन र ख्वप अस्पताल भवन निर्माण आयोजना प्रमुख विजय राम कोजूले ख्वप अस्पताल भवन निर्माणको कार्य प्रगति आदिबारे प्रष्ट पार्नुभयो भने भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोलेका थिए ।
भक्तपुर नगरपालिकाको वार्षिकोत्सवकै अवसर पारेर आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नगरपालिको प्रकोप व्यवस्थापन कोष र ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रु. ५ लाखभन्दा बढी आर्थिक सहयोग गर्ने संघसंस्थालाई कदर पत्र वितरणसमेत गरेका थिए ।
सोही क्रममा अतिथि सांसद गोसाईले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्यमा संलग्न भई सहयोग गर्ने कर्मचारीहरुलाई कदर पत्र वितरण गरेका थिए । कार्यक्रमका सभापति प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका उत्कृष्ट १० जना कर्मचारीलाई नगद पुरस्कार प्रदान गरेका थिए ।
औपचारिक कार्यक्रमपश्चात कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले ख्वप अस्पताल भवन, ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिट र छात्ती पुनःस्थापना केन्द्रको स्थलगत अवलोकन गरेका थिए ।
