भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

गिद्ध प्रजननः १३ वर्षमा १८ बच्चा

गिद्ध प्रजननः १३ वर्षमा १८ बच्चा

चितवन, । चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा १३ वर्षको अवधिमा १८ वटा मात्रै बच्चा हुर्किएका छन् । पछिल्ला दुई वर्ष अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिम रुपमा गरिएको प्रजननभन्दा प्राकृतिक रुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै गिद्धको संरक्षणमा जोड दिइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यसयता सन् २०१४ बाट प्रजनन केन्द्रमा गिद्धले अण्डा पार्न सुरु गरेको हो ।

पहिलो वर्ष पाँच अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो । उनका अनुसार सन् २०१५ मा सात अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो । सन् २०१७ मा २१ अण्डाबाट ६ वटा बच्चा कोरलिएको थियो । सन् २०१८ मा २० वटा अण्डाबाट दुई वटा बच्चा कोरलिएकोमा त्यसयता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ वटा र २० मा १४ अण्डा पारे पनि बच्चा कोरल्न सफल नभएको उनले जानकारी दिए । यसवर्ष हालसम्म १२ वटा अण्डा पारेको छ । ती अण्डा कोरल्ने समय बाँकी छ ।

यहाँ हुर्काइएका ३९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । १० वटा छाड्ने तयारी गरिएको छ । सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न सुरु गरिएको हो । पहिलो वर्ष ६ वटा गिद्ध छाडिएको थियो । सन् २०१८ मा १२, २०१९ मा १३ र यस वर्ष ८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ । थप १० वटा गिद्ध प्रकृतिमा छाड्नका लागि जटायु रेस्टुराँमा लगिएको छ । प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुराँमा जालीमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धसँग घुलमिल गराएर छोड्ने गरिन्छ ।

जटायु रेस्टराँमा प्रकृतिमा रहेका गिद्धसँगसँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्ने गरी राखिएको हुन्छ । हाल प्रजनन केन्द्रमा १० भाले र १० पोथी गिद्ध छन् । जटायु रेस्टुराँमा लगेका दुई वटा अण्डा पारेपछि पठाइएको हो । यहाँका १० पोथी र छोड्न लगिएका दुईले गरी १२ अण्डा पारेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पछिल्ला वर्षमा प्रकृतिमा रहेका गिद्धको प्रजनन राम्रो र सङ्ख्या बढ्दै गएकाले प्रजनन केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिइएको बताए ।

उनका अनुसार जटायु रेस्टुराँलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा निकुञ्ज लागेको छ । प्रजनन केन्द्रमा थोरै सङ्ख्यामा अध्ययन अनुसन्धान गर्न सक्ने गरी गिद्ध राख्ने तयारी गरिएको छ । नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो । हाल नवलपरासीसँगै दाङ्, कैलाली र कोसीटप्पुमा जटायू रेस्टुराँमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिइएको छ ।

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइएको छ । धेरै गिद्ध मरेपछि सरकारले संरक्षणमा जोड दिँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.