वेदकोट । भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । जिल्लाका १३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ ।
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि कञ्चनपुरमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । उनका अनुसार एक हजारभन्दा बढी प्रहरी र प्रहरीको सहायताका लागि एक हजार सात सय म्यादी प्रहरी परिचालन भएका छन् । ‘तीन घेरामा सुरक्षा प्रवद्र्धन मिलाइएको छ, पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र त्यसभन्दा बाहिर सेनाले सुरक्षा दिनेछन्’, प्रहरी उपरीक्षक चौधरीले भने ।
मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरी संयुक्त सुरक्षा योजना लागू गरेको छ ।
