झुटा आश्वासनमा नपर्न परराष्ट्रको सुझाव,थाइल्यान्ड र म्यानमारमा नजान आग्रह

झुटा आश्वासनमा नपर्न परराष्ट्रको सुझाव,थाइल्यान्ड र म्यानमारमा नजान आग्रह

काठमाडौं । नेपालीहरू ठगिएको भन्दै परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा नजान आग्रह गरेको छ । सूचना प्रविधिको क्षेत्रमा रोजगारीका लागि गएका धेरै नेपाली ठगिएपछि सचेत हुन मन्त्रालयले आग्रह गरेको हो ।

रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न र आफैंले समेत सम्बन्धित कम्पनी र रोजगारदाताको बारेमा वेबसाइट र टेलिफोन रइमेल मार्फत सम्पर्क गरी जाँचबुझ गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

बैंकक र यांगुनका नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेको र थप नेपालीको उद्धारको प्रयास भइरहेको परराष्ट्रले जनाएको छ । यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि युरोपेली श्रम गन्तव्य देशमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।

नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगेर बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको र तलब र सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा,रोमानिया,पोल्याण्ड,पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य देशमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न समेत सुझाव दिएको छ ।

नक्कली रोजगारीका विज्ञापनहरू प्रायःसामाजिक सञ्जालमा आउने गरेका देखिएकोले यस्ता झुटा आश्वासनमा नपर्न परराष्ट्रले आग्रह गरेको छ । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक र भिजिट भिसामा नगई प्रचलित नेपालको कानूनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान मन्त्रालयले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.