पृष्ठभूमी : नेपालमा अचेल जुनसुकै कार्यमा पनि अरुलाई दोष दिने चलनले ब्यापकता पाएको छ २१ औ शताब्दीको नितान्त स्वार्थी तथा पूँजीवादी युगमा । पारिवारिक पृष्ठभूमी र सामाजिक सँस्कारले व्यक्तिको व्यक्तित्वलाई निर्माण गर्ने गर्छ भने उसले प्राप्त गर्ने चेतनाले यसलाई विस्तृत बनाएको हुन्छ । बाँच्ने र दैनिक कार्य मात्र सम्पादन गर्ने ध्येय भएका छन प्रायः मानिस ।
परन्तु समाजका सिकेका ब्यक्तिहरुलाई हर्ने आँखा विविध भएका हुन्छन् र तिनिहरुका क्रियाकलापलाई भरपर्दो तथा जिम्मेवार रुपमा प्रयोग गरिएका हुन्छन । समाजका सिकेका ब्यक्तिहरुलाई सचेत एवं सजग नागरिकहरुको रुपमा पनि हेर्ने गरेको पाईन्छ । तथापि हाम्रो देशका दुरदराजका पाठकहरुले जतिसुकै अध्ययन वा बक्बास गरेता पनि सारमा शुन्य प्रायः मान्यता रहने तथ्य सामाजिक व्यवहारले प्रमाणित गरेका हुन्छन् ।
अरुको सिको गरेको वा पढ्नका लागि मात्र पढ्ने गरेकाहरुले कुरा बुझन सक्ने क्षमताको विकास हुन नसक्ने हुँदा साँस्कृतिक स्तरको अभाव (Shortage of Cultural Status) तिनीहरुमा खट्किदो रहेको हुन्छ । विश्व जनमत मानवीय हितका खिलाफमा हुने विविध खालका विभेदका विरुद्ध रहेको तथ्य विश्वभरी भएका महासन्धी र अभिसन्धीहरुले प्रष्ट्याएका छन । समाजमा भएका खराबी, रुढीबादी क्रियाकलाप र कुरीतिहरुकाविरुद्ध डटेर लड्नका निम्ति नै शिक्षाको आवश्यकता हुन्छ ।
शिक्षाले उचित चेतना प्रदान गर्दछ र हरेक ब्यक्तिमा असल र खराब छुट्याउने क्षमतालाई प्रगाढ बनाउने गर्छ । तर अफ्सोच दैलेख जिल्लाको अत्यन्तै पिछडिएका क्षेत्रहरुमा नेपालका अन्य क्षेत्रहरुमा जस्तै समाजका पढेलेखेका ब्यक्तिहरुले नै तुच्छ गतिविधीहरुको निरन्तरता दिएको पाईनुले नेपाल विगार्ने बदमास र अनैतिक राजनीतिक ठालुहरु भएझै दुरदराजका स्थानहरु विगार्न अर्ध–शिक्षित भनिनेहरुले सहयोगि भूमिका निभाएको प्रमाणित हुन्छ । असल शिक्षाले दिक्षीत व्यक्तिहरुले जहिले पनि स्वतन्त्रता, समानता र मानवीय क्रियाकलापहरुमा विशेष रुची राखेको पाईन्छ ।
स्वतन्त्रता तथा समानताका लागि तिनिहरुले अथक प्रयत्न गरिरहेका हुन्छन । निजी स्वार्थ उसका लागि तुच्छ हुन्छ भने समाजको सर्वाङ्गीण हित उसको अभिष्ट बनेको हुन्छ । अरुको चित्त दुख्ने कार्य उसका लागि मुत्युवरणको पूर्वाभ्यास हुने गर्दछ । महान चिन्तक एरिस्टोटलको मानवीय विशेषताको वर्गीकरणले चिन्तनलाई प्रथम दर्जामा उभ्याएको पाउन सकिन्छ । तर वास्तकि धरातल कतिपय क्रियाकलापहरुले गर्दा उराठलाग्दो, अट्टहासयुक्त त हुन्छ नै मानवीय मुल्यको समेत उल्लंघन भएको हुन्छ तिनै पठित भनाउँदाहरुबाट ।
महान लेखक ब्रतोल्त ब्रेख्तले भनेका छन् तर्क र कारण दिएर पनि चित्त बुझाउन नसकिने मनुष्यहरु केवल लाशमात्र हुन सक्छन किनकी मानिस चेतनशील प्राणी हो । ब्रेख्त (१९३९) जोड्छन सिकेका व्यक्तिहरुले विविध प्रकारका कार्यहरुको अध्ययन अनुसन्धान गरेर त्यसको उचित निष्कर्षलाई तटस्थ रुपमा नागरिकहरुका अगाडि राखिदिनु पर्दछ । तर जसले दिमाग बनाउने कार्य गरिरहेका हुन्छन तिनिहरु नै रुढीगस्त मानसिकता तथा दुराचारको प्रवर्तक बनेका हुन्छन ।
त्यसैले सुतेको व्यक्तिलाई बिउझाउन सजिलो छ, तर बहाना गर्नेहरुलाई बिउझाउन भने निकै कठिन हुने गर्दछ भन्ने प्रतित हुने गर्दछ । समाजका सचेत नागरिकहरु नै शिक्षित व्यक्ति हुन । तिनीहरूले समाजमा भएका असल र खराब कार्यहरुलाई विश्लेषण तिनिहरुले गरेका हुन्छन् । जनतालाई विविध विषयमा प्रशिक्षित पारेका हुन्छन् र वास्तविक प्रकाशको रुपमा उपस्थित भएका पनि हुन्छन् । तर आफ्नो जीवनलाई सार्थक कार्यमा प्रयोग गर्नुको सट्टा अर्थहीन कार्यमा संंलग्नता राख्नेहरु कदापि समाजका लागि उपयोगि हुन सक्दैनन् ।
आफ्ना क्रियाकलापहरुले नै आफ्नो उपहास गर्ने आचारणले लज्जित गराएको पाईन्छ । त्यसैले, ब्रेख्त लेख्नुहुुन्छ, ‘जो सत्यलाई बुझन सक्दैन्न ती मँन्द बुद्धिका हुन, तर जसले सत्य बुझेर पनि झुटो बोल्छन ती घोर अपराधी हुन ।” समकालीन पुस्ताका व्यक्तिहरुले आफ्ना अग्रणीहरुलाई शिरोपर गरिरहेका हुन्छन । अगुवाहरु समाजमा हरेक तवरबाट भरपर्दा नागरिक बन्नुपर्ने हुन्छ, जसबाट आम नागरिकहरुले विभिन्न सामाजिक परिवर्तनको अपेक्षा गरेका हुन्छन ।
कुलतको शिकार बन्ने र सामाजिक अर्घेलीका पात्रहरु गिल्ला वा उपहासका पात्र बनेका छन् । त्यस्ताहरुबाट समाज र ब्यक्तिहरु कसैले उपलब्धीको अपेक्षा गरेका हुँदैनन । ‘ताक परे तिवारी नत्र गोतामे’ प्रवृति स्वाँठ, ढोङ्गी र लालचीहरुका लागि छलछामको बिषय बन्न सक्छ । अन्ततः सारमा अगुवा नै बाटो हगुवा भएपछि अनुशरणकर्ताको आचारणमा उल्लेख्य परिवर्तन आकाशको फल सावित हुने गर्छ । तिनिहरुको जीवन बेतुकको अनुपयोगि आलोचनाको पर्याय बन्ने गर्छ ।
स्वभावैले मानिस राजनीतिक प्राणी हो र सामाजिक प्राणी हुनुले उसलाई राजनीतिक क्रियाकलापका लागि प्रेरित गरेका हुन्छन । संयुक्त राष्ट्र संघको बडापत्रलाई विश्वजनले आत्मसात गर्दछन् । त्यसैलै मानवहितका सन्दर्भमा भएका दशवटा प्रमुख अन्तर्राष्ट्रिय उपकरणहरुले मानबीय क्रियाकलापलाई उचित अनुचितमा द¥याउने कार्य गरिरहेका हुन्छन । सिखण्डी र पाखण्डीपनाले समाजमा कुनै परिवर्तन हुँदैन, बोक्रे आडम्बर तथा फूर्तिको कुनै विशेष अर्थ नै रहँदैन ।
अज्ञानीहरुसँग सूचना हुदैन, तिनिहरु भूमिगत हुन्छन् । तर अरुको भविश्य बनाउन भनी शिक्षण पेशामा संलग्न व्यक्तिहरुले त्यस प्रकारको नियत राख्नु नितान्त तुच्छ प्रवृतिको उपज हो र विश्वविद्यालयका श्वेत प्रमाण–पत्रहरुले समेत उपहास गरेको बिम्वको रुपमा लिनुपर्छ । नागरिक समाजका व्यक्तिहरु जिउँदाका जन्ती र मर्दाका मलामी पनि हुने गर्छन् ।
८–१० वर्ष शिक्षण पेशामा संलग्न शिक्षकहरुले जातीयताको कल्गीमा रुमल्लिएर मूर्ख र स्वाँठको कार्यको प्रतिविम्बन अशोभनीय भएको कारण अधिकाँश मेहेनतकश जनताले न टिका लगाए न भोजमा नै सहभागिता देखाए । यसले मानिस के भन्छ होइन, उसले के गर्छ भन्ने महत्वपूर्ण हुने गर्छ भन्ने देखाउँछ । हाँडी कबेट्टाको सरदर भाँडा बन्नै सक्दैन भने प्लाष्टिक बालेर कलम पनि कदापि हुदैन ।
सकारात्मक सोच कस्तो ?
समाज विकासमा समाजमा बसोबास गर्ने हरेक व्यक्तिहरुको भूमिका महत्वपुर्ण हुने गर्दछ । जसरी उचित शुरुवात नै आधाकामको समाधान हुन्छ, त्यसरी नै मानिसको सोचले विकास, विस्तार र समृद्धिलाई प्रगाढ बनाउने गरेको हुन्छ । व्यक्तिगत हितमा मात्रै केन्द्रित रहने सोचले निजि र सङ्कीर्ण स्वार्थलाई प्रतिविम्वित गर्दछ भने सामाजिक हितका निम्ति गरेको लगानीले हरेक व्यक्तिलाई सम्मानीत तथा स्मरणीय बनाउने गर्दछ ।
समाजको सबै नागरिकको सोच सामूिहक हित तथा उन्नतिमा व्यक्तिको हित हुन सक्छ भन्ने भएमा समाजका हरेक व्यक्तिहरुको उल्लेखनीय रुपमा प्रगति हुने गरेको हुन्छ । ‘म नै सबै थोक, मेरो भनाइ नै सर्वेसर्वा’ हुनुपर्छ भन्ने सोच मनोगतवादी बन्ने हुँदा एक आर्काबाट सिक्ने र सिकाउने मनोवृतिको विकास एकाध व्यक्ति वा समुदायको बुझाई सजगताले संभव हुदैन । यद्यपि यसले उचित भूमिकाको पहल भने अवश्य पनि गरेको हुन्छ ।
नकारात्मक सोचले समाजलाई प्रगतिको पथबाट धकेल्छ र अन्धकारलाई हावी गराउँछ । यसले व्यक्ति र समुदायबीचको आपसी समझादारी तथा सद्भावलाई निरिह बनाई दिएको हुन्छ र संभावित क्रियाकलापलाई असम्भव बनाइदिएको हुन्छ । हरेक कुरालाई गलत विश्लेषण गर्दा गलत परिणामको भागि हुनपर्ने हुन्छ र सामाजिक बेमल, मनमुटाव तथा विखण्डनको पर्याय नकारात्मक सोच हुने गर्दछ ।
“एकका लागि सबै र सबैका लागि एक” भन्ने सोचले समाजका प्रत्येक नागरिकहरुलाई एकसाथ विकास गर्ने अवसर प्रदान गरेको हुन्छ । त्यसैगरी मेरो पनि अस्तित्व रहेको छ भन्ने बुझाइ नै सकारात्मक सोचको ज्वलन्त उदाहरण हुने गर्दछ । भरपर्दो तथा उर्जाशील नागरिकको विकासको आधार सकारात्मक सोच हुने गर्दछ ।
आडम्बर तथा हैकम
आफूलाई सर्वेसर्वा भएको तथा संसारमा आफूले धेरै सिकेको सभ्य समुह तथा व्यवहारमा कुशल भएको भ्रममा रहनु नै आडम्बरयुक्त सोच हो । मानिसको जन्म र मृत्य एकै प्रकारले हुने गर्दछ । समाजमा उत्पादनका साधनहरु जमीन, प्राकृतिक स्रोत, उद्योग–धन्दा, यातायात र सञ्चारमा नियन्त्रण गर्ने समुहले अरुमाथि हैकम चलाउने र उत्पादनका साधनहरुलाई आफ्नो हित अनुकुल सञ्चालन गर्ने कार्यले समाजलाई विभाजित बनाएको हुन्छ ।
आडम्बर, पाखण्डता तथा मुर्खताको सङ्केत हो भने हैकम आडम्बरी व्यक्तिको व्यवहारको प्रस्तुति हो । आडम्बरले व्यक्तिको साहस, धैर्यता, रचनात्मक विवेक तथा व्यवहारलाई कुरुप बनाउँदै ध्वंश गरिदिन्छ । असल कार्य, सकारात्मक सोच तथा मित्रवत व्यवहार आडम्बरका विपरितार्थक शब्दहरु हुन । अरुको अस्तित्वलाई तिरस्कार गर्ने तर आपूmलाई भने सर्वोच्च ठान्ने प्रवृतिले आडम्बरलाई विस्तार गर्दै हैकमवादलाई व्याप्त बनाउने गर्दर्छ ।
समाजमा भएको सामाजिक कार्य सम्पादन, सहकार्य तथा सह–अस्तित्वलाई आडम्बर तथा हैकमवादले तिरस्कार गर्ने गर्दछ । सामाजिक मूल्य र मान्यतालाई आफ्नो हितमा व्याख्या गरेर आम नागरिकहरुलाई उपहासको पात्र बनाउने कार्य यसको प्रमुख ध्येय हुने गर्दछ । आडम्वर र हैकम नैतिक चरित्रको विकासको बाटोमा बनमारा नै हुन्छ ।
जिम्मेवारी कसको ?
समाजको सन्तुलित विकासमा सबै अगुवाहरुको भूमिका महत्वपूर्ण हुुन्छ । विवेकी, सदाचारी तथा बुद्धिमान अगुवाहरुको अथक प्रयासबाट समाजको सन्तुलित विकास संभव भएको हुन्छ । चीनीयाँ प्रसिद्ध लेखक लुशुनले भन्नुभए जस्तै नथुनी प्रवाह हुन्न, नभत्काई निमाणर््ा पनि हुँदैन ।
त्यसैले धर्मान्धतामा रुमलिएको नेपाली समाजमा सर्वसाधारण नागरिकहरुमा वास्तविक सामाजिक परिवेशबारे विश्लेण गर्न सक्ने क्षमता नहुनु अन्यथा हुँदैन । तर सचेत भनिएका व्यक्तिहरुले समाजका असल र खराब क्रियाकलापहरुबारे व्याख्या तथा विश्लेषण गर्न कञ्जुस्याँई गर्नु भनेको आलश्ययुक्त कार्य तथा बेइमानीको पराकाष्ठा हो । हरेक समाजका अगुवाहरु तथा शिक्षक र विद्यार्थीहरु विभिन्न अवसरमा विभिन्न स्थानमा पुग्छन ।
त्यहाँको भाषा, रितिरिवाज, चालचलन तथा रहन–सहनबारे जानकारी प्राप्त गर्न सक्छन । अरुबाट सिकेका कुराहरुलाई असल र खराबको दाँजोमा परीक्षण गरी आवश्यक हदसम्म अवलम्बन पनि गर्नु पर्दछ । आजको २१ औं शताब्दीको विज्ञान र प्रविधिको युगको आवश्यकता प्राविधिक दक्षता भएको परिवेशमा हरेक व्यक्तिले महान सर्वहारा वर्गीय नेता तथा चिन्तक लेनिनले भन्नु भए झै सिक्नमा सिपालु हुनै पर्दछ ।
कुनै समाजका असल, खराब तथा अस्वस्थ गतिविधिले त्यस समाजको विश्लेषणको लागि अध्ययेताहरुका लागि उपयुक्त वातावरणसूचना प्रदान गरेको हुन्छ । सामाजिक सँस्थामा गरिने क्रियाकलापहरु तथा प्रस्तुत हुने व्यवहारले समाजको नालीवेलीलाई चित्रण गरिरहेको हुन्छ । समाजका हरेक क्रियाकलापले व्यक्तिको व्यवहार, रचनात्मक सोच तथा चिन्तलाई निर्देशन गरेको हुन्छ । असल व्यवहार, रचनात्मक सोच तथा कार्य सम्पादनमा आधारित हुन्छ ।
समृद्ध व्यवहारले मात्र उन्नत चिन्तन तथा व्यवस्थित सोचको प्रवर्द्वन गर्दछ । तसर्थ अचेलका विद्यार्थीहरु नै भविष्यका राष्ट्र विकासका खम्बाहरु भएकाले तिनिहरुलाई विभिन्न विषयमा प्रशिक्षित पार्नुपर्ने हुन्छ। सामाजिक क्रियाकलापबारे जानकारी प्राप्त गर्न नसकेका विद्यार्थीहरुको नैतिक आचरणको विकास हुन नसक्दा तिनिहरु जीवनभर तिरस्कृत रहनु पर्ने तथा रित्तोभाँडो कराए जस्तै बेतुकका बखेडामा जीवन व्यतित गर्ने र बेमेल तथा असमझ्दारीमा महत्वपूर्ण समय खेरफाल्ने यत्न गर्ने निश्चित हुन्छ ।
त्यसकारण, सामाजिक अगुवाहरु, जिम्मेवार अभियन्ताहरु तथा विवेकशील नागरिकहरुको बुद्धिमतापूर्ण कार्य सम्पादनमा समाजको सन्तुलित विकास हुने भएकाले सचेत आगुवाहरुले समाज परिवर्तनको जिम्मा कसको हो ? भन्ने सन्दर्भमा सजग रहनु पर्दछ ।
सक्रियता वा दोषमात्र
अचेल राम्रो परिणाम देखिएमा कुनै पनि कार्यको जस आफूले लिने तर नकारात्मक देखिन गएमा अरुलाई दोषारोपण गर्ने प्रवृति चुलिएको छ । त्यसो त अरुलाई अर्घेली गर्ने तर असल कामको श्रेय आफूले लिने प्रवृति नेपाली समाज र नेपालका लागि नौलो होइन । परन्तु, आफूले गरेका कार्यको बढी चर्चा गर्नुको अर्थ “मान नमान मै तेरा महिमान” जस्तै हुन्छ । असल कार्यको चर्चा आम नागरिकहरुले गर्दछन् , तर आफूले गरेका कामको चर्चा आफै गर्नु चिन्ताजनक कार्य हो ।
कमिजमा फोहर भएमा साबुन पानीले सफा गरे शुद्ध हुन्छ र पुनःप्रयोगका लागि उचित हुन्छ । तर सामाजिक खराबीलाई चर्चा परिचर्चाबाट निष्क्रिय पार्नुको साटो बेमतलबका कार्य गर्ने र गैह्र–जिम्मेवारीपूर्ण क्रियाकलापहरु प्रस्तुत गर्नेमा अधिकाँश नागरिक तल्लीन रहेका पनि हुन्छन् । यसले खराब कार्यलाई अन्त्य गर्ने होइन भने मौलाउने अवसर प्रदान गर्दछ । सजग र सचेत नागरिकहरुको अन्त्यहीन प्रयत्नबाट मात्र समाजले रचनात्मक प्रगति गर्न सकेको हुन्छ ।
रचनात्मक सोचले हरेक व्यक्तिको उन्नति तथा विकासलाई समृद्ध बनाएको पाईन्छ । त्यसैले, सामाजिक चेतना विकासका कार्यहरुमा सबैले सक्रियता राख्नुपर्ने हुन्छ । “एक थुकी सुकी सय थुकी नदी” को कहावतलाई मध्यनजर गरी निष्क्रियता राख्ने वा अरुलाईमात्र दोष थोपर्ने प्रवृतिको सट्टामा आफ्नो भूमिकाको खोजिगर्नु हरेक नागरिकका लागि उपर्युक्त हुन्छ ।
सिकाउने वा सिक्ने
परिस्थितिले विभिन्न किसिमको सिकाईको अवसर प्रदान गर्दछ । समयले हरेक कुरालाई निर्धारण गरेको हुन्छ । त्यसैले भएको हो शिक्षक नै समय हो र समय नै शिक्षक (Techer is time and time is teacher)। अचेल हाम्रो देशमा सबेै कुराको लथालिङ्ग तथा भताभुङ्गको स्थिति देखा परेको अवस्थामा एक अर्काले दोषारोपण गर्ने सँस्कृति नै बनेको छ । आफ्नो आङ्गमा भैसी नदेख्ने तर अरुको आङ्गको जुम्रा देख्ने प्रकृति एक किसिमले हावी भयो भन्नै पर्छ ।
कुनै राज्यमा निश्ति रुपमा निश्चित रोलमोडलहरु हुन्छन् । तिनिहरुलाई अगुवा तथा प्रेरणाका स्रोतहरु भनिन्छ । अगुवाहरुले गरेका कामको प्रभाव तिनिहरुका अनुशरणकर्तामा पर्ने भएकाले अगुवाहरुले संवेदनशीलताकासाथ कार्य सम्पादन गर्नु तथा सोही अनुसारको आचरण गर्नु सान्दर्भिक देखिन्छ । मानिसले विभिन्न परिवेशबाट सिक्ने र सिकाउने भएकाले उसमा सकारात्मक सोचको विकास हुनु जरुरी हुन्छ ।
गल्तिलाई सच्च्याउँदै कमी–कमजोरीबाट सिक्दै जाने तर नदोह¥याउने कार्यमा प्रतिवद्ध रहनु प्रत्येक सचेत नागरिकको कर्तव्य नै हुन्छ । समाजबाट सिक्ने र सिकाउने कार्यमा अनवरत पहल कदमी गर्नु तथा समाजमा व्याप्त विकृति, विसङ्गगति र व्यभिचारजन्य कार्यहरुको अन्त्यमा अभ्यस्त रहनु हरेक सचेत नागरिकको कर्तव्य हुने गर्दछ, जसबाट कोही पनि चुक्नु हुदैन ।
उपसंहार
मानिसहरु रहेसम्म विभिन्न रितिरिवाज, चाल–चलन र भेष–भूषाहरु विद्यमान रहेका हुन्छन् । सबैका कला, साहित्य, सँस्कार र संस्कृतिहरुबीचको तादाम्यताबाट मात्र समाजमा पूर्णतः शान्ति संस्कृतिको नामुद उदाहरण बन्न सक्छ । शिक्षित व्यक्तिहरु चिन्तनशील हुन्छन् । तिनिहरुले सकारात्मक र नकारात्मक कार्यलाई विष्लेषण गर्ने क्षमता राख्दछन र समयानुकुल रचनात्मक र्काय सम्पादन गर्ने दक्षता राख्ने गर्दछन् ।
तर डाडुलाई तिहुनको स्वाद के थाहा भने झै आफ्नो योग्यता, क्षमता, दायित्व र भूमिकालाई विस्मृत गरी कुलतजन्य कार्यमा संलग्नता राखेमा सिकाई र व्यवहारमा विसंङ्गति देखापर्ने हुन्छ । तसर्थ समाजका अगुवाहरु, विकासे कार्यकर्ताहरु, सुरक्षाकर्मीहरु, शैक्षिक अगुवा, साँस्कृतिकर्मी, लेखक, पत्रकार तथा समाजका प्रवुद्ध समुदायहरुले एक अर्काबाट सिक्ने र सिकाउने मनोवृतिको विकास गर्नुपर्दछ ।
आफ्नो कर्तव्य, दायित्व तथा भुमिकालाई निर्वाध रुपमा रचनात्मक उपयोग गर्नु समाजका विभिन्न खाले कृतध्वनताका विरुद्ध अभियान सञ्चालन गरेर सचेत नागरिकको रचनात्मक भूमिका निर्वाह गर्नु पर्दछ । समाजमा विभिन्न क्षमता, स्वभाव र रुची भएका नागरिकहरुको बाहुल्यता रहेको हुन्छ । तिनिहरुका बुझाई र क्षमतामा आउने पृथकताले असमझदारीको विकास गराएको पनि हुन्छ ।
तिनिहरुको कारण खोज्दै व्याख्या र विश्लेषण गरेर उचित निष्कर्षमा पुग्नुपर्ने हुन्छ । आफ्ना कमजोरीलाई यथोचित महशुस गर्न सक्नु नै सचेत नागरिकको ठुलो गुण हो किनकी महशुस गर्न नसकेको खण्डमा गल्तिहरु बढ्ने हुन्छ । त्यसैले भनाई र गराईमा तादाम्यता रहनु पर्दछ र नागरिकहरु वैयक्तिक रुपमा इमान्दार पनि हुनै पर्दछ ।
डा. कृपाराम विश्वकर्मा
