भर्खरै : Sorry, your browser does not support inline SVG.

दसैँ छाडेर गौरीफन्टा हुँदै भारत पस्दै नेपाली, रोजगारीको बाध्यताले चाडपर्व रोकिएन

दसैँ छाडेर गौरीफन्टा हुँदै भारत पस्दै नेपाली, रोजगारीको बाध्यताले चाडपर्व रोकिएन

मुख्य बुँदा

दसैँको मुखमा रोजगारीका लागि नेपाली भारत जान थाले ।

गौरीफन्टा नाका हुँदै सुदूरपश्चिमका युवाको भारत आवतजावत बढ्दो ।

घरखर्च, ऋण र छोराछोरीको पढाइका कारण चाडपर्व छाड्नुपर्ने बाध्यता ।

भारत जाने नेपालीको यकिन तथ्यांक सरकारसँग छैन ।

गड्डाचौकी, झुलाघाट र दार्चुलाका नाका पनि भारत जाने प्रमुख मार्ग ।

स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारसँग माग ।

धनगढी, २१ असाेज । दसैँ नजिकिँदै गर्दा अधिकांश नेपाली परिवार चाडपर्वको तयारीमा जुटेका छन् । तर सुदूरपश्चिमको गौरीफन्टा नाकामा भने दृश्य फरक छ । परिवारसँग दसैँ मनाउने रहर हुँदाहुँदै रोजगारीको खोजीमा नेपालीहरू भारत पस्न थालेका छन् ।

सानो झोला बोकेर सीमापारि जाने उनीहरूको काँधमा सामानभन्दा ठूलो परिवारको जिम्मेवारी छ । घरखर्च, ऋण, छोराछोरीको पढाइ र दैनिक जीवन चलाउनुपर्ने बाध्यताले उनीहरूलाई चाडपर्वकै मुखमा पनि भारततर्फ धकेलेको छ । बाजुराको हिमाली गाउँपालिका–३ का दिनेश थापा यसपटक दसैँमा घर बस्न पाएनन् ।

खेतीपातीबाट परिवारको खर्च धान्न कठिन भएपछि उनी रोजगारीका लागि भारत जाँदैछन् । घरमा आमाबुबा, श्रीमती र छोराछोरी छन् ।उनका लागि भारत जाने बाटो नयाँ भने होइन । यसअघि पनि रोजगारीका लागि भारत गएका थिए । केही समय घर फर्किए पनि स्थायी आम्दानीको स्रोत नहुँदा फेरि भारत फर्किनुपरेको उनले बताए ।

बाजुराकै त्रिवेणी नगरपालिका–२ का भीम बिले पनि नेपालमै रोजगारी पाए भारत जानुपर्ने अवस्था नआउने बताए । नेपालमै मासिक २०–२५ हजार रुपैयाँ कमाउने काम पाए भारत जानुपर्ने बाध्यता नहुने उनको भनाइ छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट भारत रोजगारीका लागि जाने परम्परा पुरानै हो । यहाँका नेपाली भारतका विभिन्न सहरमा निर्माण, होटल, सुरक्षा गार्ड, कारखाना, चौकीदारी तथा घरेलु काममा संलग्न हुने गरेका छन् ।

कतिपय नेपालीको जीवन वर्षौंदेखि यही चक्रमा चलिरहेको छ । केही महिना गाउँमा बस्ने, खेतीपाती गर्ने र फेरि रोजगारीका लागि भारत जाने । वर्ष फेरिए पनि उनीहरूको रोजगारीको गन्तव्य भने फेरिन सकेको छैन ।

धनगढी उपमहानगरपालिका–२ का शिवराम चौधरी पनि लामो समय भारतमा काम गरेर नेपाल फर्किएका थिए । नेपालमै केही गर्ने प्रयास सफल नभएपछि उनी फेरि भारत फर्किँदैछन् । जुत्ता कम्पनीमा मेसिन चलाउनेदेखि कार कम्पनीमा खाना पकाउनेसम्मको काम गरेको उनले बताए ।

नेपालमा कामको स्थायित्व नहुँदा भारत जानुपर्ने अवस्था आएको उनको भनाइ छ । भारतमा दुःख भए पनि काम गरेपछि आम्दानी हुने भएकाले धेरै नेपाली त्यतै जान बाध्य भएको उनले बताए ।

भारत जाने नेपालीको यकिन तथ्यांक छैन

सुदूरपश्चिमबाट भारत जाने नेपालीको यकिन तथ्यांक सरकारसँग छैन । खुला सीमाका कारण रोजगारीका लागि भारत जानेको वास्तविक संख्या पत्ता लगाउन कठिन छ ।

कैलालीको धनगढीस्थित त्रिनगर–गौरीफन्टा नाका भारत जाने नेपालीका लागि प्रमुख प्रवेशद्वारमध्ये एक हो । यसबाहेक कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाका विभिन्न नाकाबाट पनि ठूलो संख्यामा नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् ।

भारत जानेमध्ये कतिपय परिवार ऋणमा छन् । कसैका छोराछोरी विद्यालयमा अध्ययनरत छन् भने कसैले घर निर्माण, जग्गा खरिद वा अन्य कामका लागि लिएको ऋण तिर्नुपर्ने छ । त्यसैले दसैँको मुखमा घरमै बसेर चाड मनाउनुभन्दा उनीहरूका लागि कमाइ प्राथमिकतामा परेको छ ।

बझाङको केदारस्युँ गाउँपालिका–३ का महेश धामीले पनि परिवारको अवस्था सम्झिएपछि दसैँ छाडेर भारत जानुपर्ने बाध्यता रहेको बताए ।

भारत जाने नेपालीका लागि दसैँको खुसी पनि उनीहरूको कमाइसँग जोडिएको छ । उनीहरूले परदेशमा कमाएको पैसाले घरमा नयाँ लुगा किनिन्छ, छोराछोरीको विद्यालय शुल्क तिरिन्छ र ऋणको किस्ता बुझाइन्छ । यस अर्थमा उनीहरूको परदेशको कमाइ नै परिवारको दसैँको आधार बन्ने गरेको छ ।

सुदूरपश्चिमबाट भारत जाने जनशक्तिलाई स्वदेशमै रोक्न उत्पादन र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ । भारतबाट फर्किएका तथा रोजगारी खोजिरहेका युवालाई कृषि, उद्योग, पर्यटन र स्वरोजगारसँग जोड्ने कार्यक्रम ल्याइएको स्थानीय तह र प्रदेश सरकारले बताउँदै आए पनि ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य हुन सकेको छैन ।

युवा विद्यार्थी सन्तोष रावलले चाडपर्वको मुखमा समेत युवाहरू रोजगारीका लागि भारत जानुपर्ने अवस्था दुःखद भएको भन्दै सरकारले स्वदेशमै रोजगारीको वातावरण बनाउनुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.