दार्चुला । हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुलेको छ। मंगलबार व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८
वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली गएर उद्दारमा जुटेको प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताइन् ।
प्रतिकुल मौसमले खोजी कार्यमा समस्या
हिमपहिरोमा परेर बेपत्ता भएका ५ जनाको खोजी कार्यमा प्रतिकुल मौसम बाधक बनेको छ । छाङरुस्थित बोलिनमा हिमपहिरोमा परेर बेपत्ता भएका १२ जनामध्ये ७ जनालाई प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै बेपत्ता छन् ।
बुधबार सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङ दार्चुलाबाट डीएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली परिचालन गरिएको छ । टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । तर, प्रतिकुल मौसमका कारण उद्धारमा समस्या देखिएको छ । यार्सागुम्बा संकलन गर्न गएका बेला एक्कासी हिमपहिरो गएको थियो ।
मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो । नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले बताए ।
केही दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको प्रहरीले जनाएको छ। करिब पाँच फिट हिउँ जमेको छ । बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।
