भक्तपुर । नेवारी पहिरन सजिएका नगरबासीले मौलिक शैलीमा देवतालाई सगुन चढाएका छन् । भक्तपुर यतिबेला जात्रामय बनेको छ । बिस्का जात्राको आठौं दिन भएकाले सोमबार देवतालाई सगुन दिने जात्रा रहेको छ । द्यो स्वगं वियगू जात्रा भनेर परिचित यो जात्रामा भक्तपुरबासी आफ्नो मौलिक पोशाकमा नगरभित्रका देवस्थलको परिक्रमा गरिरहेका छन् ।
नौ दिन आठ रात लामो बिस्का जात्राको यो दिन विशेष दिनका रुपमा लगिन्छ । आज भक्तपुर नगरभरि सबैतिर जात्रा चल्ने परम्परा छ । सयौं महिला लस्करै हाकुपटासीमा हिँड्छन् भने पुरुषहरु दाउरा सुरुवालमा हिड्छन् । प्रत्येकको हातमा देवतालाई चढाउन खाद्य सामग्री बोकिरहेका छन् ।
भोजका हरेक परिकार चिउरा, हरियो लसुन, अण्डा, चटामारी, बारा, गेडागुडी, माछा, आलु, चना, काउली, राँगाको मासुका परिकार, योमरी, भुटन, दही, मसला पाकेट, सिसा फुसा, पान, रक्सी, छ्यांग साथमा खजुरी, जेरी, स्वारी, बिस्कुट, चकलेट, फलफूल समावेश सामाग्री चढाउनेको संख्या बाक्लो छ ।
देवस्थलमा उक्त सामाग्री चढाउँछन् र इच्छाअनुसार दक्षिणा पनि । भक्तपुर नगरभरि छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवस्थलमा उक्त सगुन चढाइन्छ । अष्टमातृका, भैरव, गणेशलगायत ३३ गरी कुल ४१ वटा देवीदेवतालाई सगुन यतिबेला सगुन दिइन्छ । सगुन यात्रा सूर्यमढीबाट सुरु भएर दत्तात्रय, गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुग्ने स्थानीयले बताए ।
गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा हुँदै दरबार क्षेत्र हुँदै तलेजू, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेको र सूर्यमढी पुगेपछि जात्रा समापन हुने गर्दछ । सबै देवताको एकैदिन पूजा गर्ने यो जात्राको विशेषता रहेको संस्कृतिविद् ओमप्रसाद धौभडेलले बताए ।
घरपरिवारमा महिलाले खाना खुवाइदिने अर्थमा देवतालाई पनि महिलाले नै सगुन दिने चलन रहको उनको भनाइ छ । भद्रकाली र भैरवनाथलाई बिस्का जात्राको पहिलो दिन २७ चैतमा नै देवघरबाट निकाली रथमा राखिएको हुन्छ र जात्रापछि पुनः देवताघरमा फर्काइन्छ । भैरव र भद्रकालीलाई वैशाख ५ गते जात्रा सकेपछि मात्रै देवघर फिर्ता गरिने उनको भनाइ छ ।