काठमाडौं । काठमाण्डौ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा अत्यधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको हो । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक रेकर्ड ट्राफिक प्रहरीले हातले नै राख्दै आएको र आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका भएपनि अब भने अत्याधुनिक मेसिनले रेकर्ड राख्ने व्यवस्था गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य गरेको नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद समेत गरिसकेको छ ।
मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वान समेत गरेको छ ।
यसबाट समग्र उपत्यकाको सबै पालिका एवम् सङ्घीय सरकारलाई समेत फाइदा पुग्ने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग पुुग्ने जनाइएको छ । उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि समेत ‘स्क्यानिङ’ गरी अभिलेख राख्ने उल्लेख गरिएको छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब रु दुई करोड ५० लाख पर्ने जनाइएको छ ।
