नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणमा थप २ जना पक्राउ , अहिलेसम्म पक्राउ पर्नेको संख्या १६ जना पुग्यो

नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणमा थप २ जना पक्राउ , अहिलेसम्म पक्राउ पर्नेको संख्या १६ जना पुग्यो

काठमाण्डौ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेको छ । विहिबार थप २ जनालाई पक्राउ गरेपछि यस प्रक्रियामा पक्राउ पर्नेको संख्या १६ पुगेको हो । विहिबार पक्राउ पर्नेमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनासँगको बयान सकिएको छ । पक्राउ परेका सबैको बयान सकेर प्रहरीले पर्सि आइतवारसम्म रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारी वकिल कार्यालयले सकेसम्म शुक्रबार नै प्रतिवेदन बुझाउन भनेको छ ।

थप पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाण्डौबाट दुई दिनको म्याद थप भइसकेको छ । घटनामा अन्य उच्च पदस्थ व्यक्ति पनि तानिन सक्ने आशङ्का छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुन सक्ने भन्दै सांसद, नागरिक अगुवालगायतले निरन्तर खबरदारी गरिरहेका छन् ।

ठगी प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।

पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र निरज राई अझै फरार छन् । अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि काठमाण्डौ जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ । आउँदो मङ्गलवारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.