काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।
दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।
दिवसमा पुरस्कृत हुने कर्मचारीहरु
सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।
सरकारले विगतका वर्षमा जस्तै यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने छनोट गरेन ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदबारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौंडाकी नायब सुब्बा शुभलक्ष्मी लामाले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् ।
