नेकपा ओली पक्षका लाखौं मान्छे काठमाडौँमा, आज शक्ति प्रदर्शन

नेकपा ओली पक्षका लाखौं मान्छे काठमाडौँमा, आज शक्ति प्रदर्शन

काठमाडौँ । नेकपा ओली पक्षले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा हुने भएको हो । सभामा २ लाख बढी मानिस सहभागी हुने यो पक्षले दावी गरेको छ । सभामा बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी हुनेछन् ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन्। सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ। जुलुस तथा सभा व्यवस्थापनका लागि २ हजार स्वयम सेवक खटाइएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ । नेकपाकै प्रचण्ड–नेपाल खेमा ओलीले प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा छ ।

 


Thali Mobile Pvt.Ltd.